सीके राउतको जनमत पार्टीले बन्द गर्‍यो पूर्व-पश्चिम राजमार्ग


२० माघ २०७८, बिहीबार
ck raut banda7 ZEmB5D7EJT

सप्तरी । सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) देखि पुनः पूर्व-पश्चिम राजमार्ग बन्द गराएको छ । किसान आन्दोलन गरिरहेको जनमत पार्टीको बन्द आह्वानमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी खण्डमा सवारी चलेका छैनन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

आज विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीय बाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।

किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।

आन्दोलनको शुरुमा पनि केहि दिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो । प्रहरीले भने बल प्रयोग गरेर खुलाएको थियो । सो बेला आन्दोलनकारीले सिरहा, धनुषा र सप्तरी गरी ४ वटा ट्रकमा आगजनी र सयौं सवारी साधनमा तोडफोड गरेका थिए । आवश्यक तयारीका लागि भन्दै जनमतका कार्यकर्ताले राजमार्गबाट पछि हटेर केहि समय गाउँ केन्द्रित आन्दोलन गरे । त्यसपछि अहिले तयारीका साथ राजमार्ग अवरुद्ध पारेको उनीहरुको दावी छ । जनमत पार्टीले यसपल्टको आन्दोलन निर्णायक हुने बताउँदै आएको छ ।

जनमतका नेताहरुले सरकारलाई किसानको माग सम्बोधन गराउन जुनसुकै परिस्थितिको सामना गर्ने भन्दै उत्तेजक अभिव्यक्तिहरु दिने गरेका छन् । आन्दोलन सफल पार्न पार्टीले करिब २० हजार युवा दस्ता समेत तयार पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७