गायक विष्णु खत्री बने माओवादीको नगर उपाध्यक्ष


२० माघ २०७८, बिहीबार
bishnu khatri 6tI1q3RZg3

काठमाडौं । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिको उपाध्यक्ष चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उहाँसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो ।

गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ’पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु’, उनले भने, ‘कुनै पार्टीमा विचार/आस्था जोडिइसकेपछि नेतृत्व मै रहेर काम गर्नु उचित ठानें ।’
राजनीति र कला कर्मलाई एकसाथ अघि बढाउने उनले बताए । आफूलाई चिनाउने लोकसंगीत क्षेत्रको टेवा र उत्थानमा सधैँ क्रियाशील भएर लाग्ने उनले बताए । गलकोट-७ मल्ममा जन्मिएका उनले यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य रहेर काम गरेका थिए ।

उनी वि.सं. २०७४ को स्थानीय तहका निर्वाचनमा सोही पार्टीको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिस समेत भएका थिए । लोक संगीत क्षेत्रमा रुचाइएका गायक-सर्जक खत्रीले सयौं गीतमा स्वर दिएका छन् ।

शब्द रचना र भाका निर्माणमा पनि उनी उत्तिकै पोख्त छन् । उनले गीतकामार्फत विकृति, विसंगति, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठान गर्दै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लाश चाहियो, कि सास चाहियो’ र ‘जम्मु कश्मिरमा’ लगायत गीत चर्चित छन् ।

माओवादी केन्द्रले नगर समितिका अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७