‘ग्रिन गोल्ड’ बेचेर आम्दानी गर्दै दङ्गाली किसान


२० माघ २०७८, बिहीबार
Barsim Ghas Dang Kisan

दाङ । दाङ घोराही-७ का रमा आचार्य पेसाले शिक्षक हुन् । उनले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पालेका छन् । ती बाख्राले बरसिम घाँस खाने गर्छन् । उनलाई बाख्रा पाल्न सजिलो भएको छ । उनी हिँउदमा आफ्नो दुई बिघा खेतमा तोरी, मसुरो र गहुँको साटो बरसिम घाँस लगाउँछन् ।

उनले पूरै खेतमा घाँस लगाउन थालेको पाँच वर्ष भयो । हरियो हुँदा काटेर गाईवस्तुलाई खुवाउन पनि पाइएको छ । सुकेको डाँठलाई खुवाउन पाइने र फल लाग्यो भने बिक्री पनि गर्न पाइने अत्यन्तै उपयोगी घाँस भएको उनले बताए । ‘बाख्राका लागि घाँस खोज्न भौतारिनुपरेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिएको छ । समयको बचत पनि भएको छ । एक बिघा खेतबाट एक सिजनमा एक लाख रुपियाँ आम्दानी हुन्छ । गत वर्ष मात्र मैले रु दुई लाखको बरसिम घाँस बेचेँ’, उनले भने । घोराही- ६ का महेश चौधरीले १३ कठ्ठा खेतमा घाँस लगाएका छन् । हिउँदमा बरसिम लगाएपछि एक याममा चारदेखि पाँच पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ ।

बीउ छरेपछि गोडमेल र स्याहार्न झन्झट नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । गाई, भैंसी, भेंडा र बाख्रा सबैलाई सो घाँसले फाइदा पुर्‍याउँछ । पशुपालक किसानका लागि बरसिम घाँस एकदमै उपयोगी भएको उनले बताए। गत वर्ष ८० हजार रुपैयाँको घाँस बिक्री गरिएको उनले बताए । ‘यसपालि पनि राम्रो उत्पादन हुने आशा गरेको छु’, उनले भने ।

घोराही-१७ कर्जाहीका पूणर् चौधरीले दुई भैंसी, चार भेडा र छ बाख्रा पालेका छन् । ‘दश कट्ठा खेतमा बरसिम घाँस छरेको छु, बस्तुभाउलाई पाल्न सजिलो भएको छ’, उनले भने । घरमै बीउ उत्पादन गरेर बर्सेनि घाँस खेती गर्ने गरेको उनले बताए । ‘गत वर्ष रु ६० हजारको घाँसको बीउ बिक्री गरेको थिएँ । यसपालि हिउँदे वर्षा भएकाले घाँस राम्रो भएको छ । एक पटक काटेर सकियो । चार पटकसम्म काट्न सकिन्छ’, उनले भने । गहुँ र मसुरोभन्दा धेरै आम्दानी हुने भएकाले यहाँका धेरैजसो किसानमा ‘ग्रिन गोल्ड’ मा आकर्षण बढेको छ ।

किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलफूल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कृषकले व्यावसायिकरूपमा एक वर्षीय हिउँदे कोसे बरसिम घाँसखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही-६,७ र १७ का किसानले पछिल्लो समयमा घाँसखेतीबाट राम्रो आम्दानी लिने गरेका छन् । धान खेतीपछि बरसिम घाँस खेती गर्ने गरिन्छ । ‘भुइँघाँस’ खाएका पशुले दिने दूध अत्यन्तै लाभकारी मानिन्छ ।

वर्षात्मा लगाइएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । हरियो र सुकेको बरसिम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही-६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघासम्म घाँस खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भए पछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो र गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ ।

घोराही-६ का गुरुवागाउँ, गुरगै, बेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा तथा घोराही-१७ को गैरागाउँका किसानले बरसिम घाँसखेती गरेका छन् । अहिले पुरै खेत भरी हरियो बरसिम खेती देख्न सकिन्छ । अहिले उक्त क्षेत्रमा रहेका १६० घर परिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउँछन् ।

जोत्न नपर्ने, मल हाल्नु नपर्ने र धानमा हालिएको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक-पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । घाँसका लागि कम लगानी गर्नुपर्ने भएकाले हरेक वर्ष घाँसखेती गर्ने किसान बढ्दै गएको शिवशक्ति घाँसको बीउ उत्पादक संघले जनाएको छ । संघका सचिव अधिकारीका अनुसार अहिले १०० हेक्टरमा बरसिम घाँस खेती गरिएको छ । व्यावसायिकरूपमा घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । घाँस खेतीबाट गत वर्ष रु ७० लाख आम्दानी भएको सचिव अधिकारीले बताए ।

कतिपय किसानले आफैँ बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफैँ बिक्री गरेको रकम जोड्दा धेरै हुने उनी बताउँछन् । यसवर्ष बरसिम घाँसको बीउ करीब रु ७५ लाखको बिक्री हुने उनको अपेक्षा छ । पानी परेकाले यस वर्ष घाँस खेती राम्रो हुने किसान बताउँछन् । किसानले प्रायः आम्दानी गर्नका लागि नगदेबालीको खेती गर्ने चलन भए पनि दाङका किसानले वागवानीअन्तर्गतका तरकारी, फलफूल र फूलको साटो घाँस बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । दङ्गीशरण गाउँपालिकामा पनि पछिल्लो समय किसानले बरसिम घाँस खेती गर्न थालेका छन् । त्यहाँका किसानको मागका आधारमा ७५ प्रतिशत अनुदानमा घाँसको बीउ वितरण गरिएको गाउँपालिका अध्यक्ष भागिराम चौधरीले बताए ।

तीन सय ६४ किसानले बरसिम घाँसको बीउ पाएका छन् । घाँसको बीउका लागि तुलसीपुर र घोराही जानुपर्ने बाध्यता हटेकाले यहाँका किसान खुशी भएका छन् । गाउँपालिकामा बरसिम, जै र भेज घाँसको बीउ वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । लमही नगरपालिकाका किसानलाई व्यावसायिकरूपमा पशुपालन गर्न सजिलो होस् भनेर अनुदानमा घाँसको बीउ वितरण गरिएको नगरपालिका प्रमुख कुलबहादुर केसीले बताए ।

‘स्थानीयस्तरमा उत्पादित बीउ खरिद गरेर ५० प्रतिशत अनुदानमा वितरण गर्ने गरेका छौं’, उनले भने । व्यवसायी र साधारण किसानलाई पशुआहार कार्यक्रमअन्तर्गत सहयोग गरिएको हो । घाँसको व्यवस्थापन भएपछि पशुपालक किसानको यसतर्फ आकर्षण बढेको छ । दाङ बरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्लाका रुपमा रहेको अधिकारीले बताए । जिल्लामा व्यावसायिकरूपमा यसरी गरिएको घाँस विभिन्न जिल्लामा बिक्री भएको छ ।

दाङमा उत्पादन भएको घाँसको बीउ रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, मोरङ, सर्लाही, चितवन, नवलपरासी, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर, भक्तपुरमा बिक्री हुने गरेको छ । घोराही-६ (साबिक सौडियार गाविस) मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँसखेती शुरू भएको हो । दाङमा उत्पादित घाँसमा उमार शक्ति धेरै छ । यहाँ प्रतिकठ्ठा ३० देखि ३५ किलोग्रामसम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । हिउँदे घाँस बरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा काटेर गाईभैंसीलाई खुवाउन सजिलो हुन्छ ।

कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गर्ने गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु १६० देखि २२० सम्ममा बिक्री गर्ने गरिएको छ । घाँसको राजा बरसिम गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेको पाइन्छ । घाँसको हरियो र सुकेको डाँठ दुवै पशुपक्षीलाई खुवाउन सकिन्छ । जिल्लामा गाई, भैंसी र बाख्राको व्यावसायिकपालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानले घाँस मात्रै खेती गर्ने गरेको सचिव अधिकारीले जानकारी दिए ।

पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका अधिकृत प्रेमकुमार चौधरीले जानकारी दिए ।

खासगरी धान उत्पादनको तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको चौधरीले बताए । घाँस खेती गरेका किसानले हरियो घाँस र फलेको दाना बिक्री गरेर पनि आम्दानी गर्न सक्छन् । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको चौधरीको भनाइ छ ।

दाङमा घोराही, नारायणपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर र सौडियार क्षेत्रमा व्यावसायिक घाँसखेती हुने गरेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा बरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । घोराही उपमहानगरपालिकाले २४४ किसानलाई एक हजार ८१५ किलो बरसिम घाँसको पचास प्रतिशत अनुदानमा वितरण गरेको पशु शाखा प्रमुख जीवराज पौडेलले बताए । उपमहानगरभित्रका व्यावसायिक किसानको मागका आधारमा घाँसको बीउ वितरण गरेको छ ।

उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्ने बढ्दै गएका छन् । किसानले हरियो र सुकेको दुवै घाँस बिक्री गरेर आम्दानी गर्न थालेका छन्। किसानलाई व्यवसायमा सजिलो होस् भनेर गत वर्षदेखि घाँसको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्न थालिएको प्रमुख पौडेलले जानकारी दिए । सिंचाइको सुविधा भएका अन्य पालिकामा पनि बरसिम घाँसखेतीका लागि प्रोत्साहन गर्ने सोचाइ राखिएको जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले जनाएको छ । रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७