मुख्यमन्त्री राईलाई अनेरास्ववियुको कालो झण्डा


२० माघ २०७८, बिहीबार
thumb

मोरङ । प्रदेश-१ मा मन्त्रालय विस्तारको विरोधमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई एमालेको भ्रातृ संगठन अनेरास्ववियुले बिहीबार कालो झण्डा देखाएको छ । विराटनगर विमानस्थलबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउने क्रममा मुख्यमन्त्री राईलाई एयरपोर्ट रोडमा कालो झण्डा देखाएको हो ।

अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालको नेतृत्वमा आएका २०/२५ जना विद्यार्थीहरूले कालो झन्डा देखाएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले कालो झण्डा देखाउने विद्यार्थीहरूलाई रोक्न खोज्दा सामान्य झडप भएको थियो । संघीयता समाप्त पार्न प्रदेशको अर्थतन्त्रले धान्न नसक्ने गरी प्रदेश सरकारले सातवटा मन्त्रालय विस्तार गरेर १२ वटा पुर्‍याएकाले विरोधमा उत्रिन बाध्य भएको उपमहासचिव भाष्कर खनालले बताए । मन्त्रालय विस्तारको निणर्य नसच्याएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने निणर्य गरेर मन्त्रालय विस्तार गर्ने निणर्य गरेको थियो । बैठकले अहिले भएको सातवटा मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गरी चार मन्त्रालयलाई विभाजन गर्ने निणर्य गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

उक्त मन्त्रालयहरूलाई विभाजन गरेर सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि, सहकारी तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बनाउने निणर्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने यथावत् रहने मन्त्रिपरिषद्को बैठकले निणर्य गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७