एमसीसीबारे तत्काल निर्णय गर्न कठीन छ : प्रचण्ड

‘प्रतिगमनको खतरा व्यापक छ, भत्काउन खोजे पनि अहिल्यै गठबन्धन टुट्दैन’


२० माघ २०७८, बिहीबार
prachanda 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे तत्काल निर्णय लिन कठीन रहेको स्पष्ट पारेका छन् । पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यही अवस्थामा एमसीसीबारे निर्णय लिन कठीन रहेको बताएका हुन् ।

‘एमसीसीबारे तत्काल निणर्य गर्न कठीन छ । एमसीसीका विभिन्न बुँदाहरुमा धेरै जनाको असहमति रहेको छ । ती बुँदाहरुलाई संशोधन गरेर हुन्छ या कसरी हुन्छ, छलफल र विमर्ष गरेर मात्र यसबारे निर्णय गर्न सकिन्छ,’ बैठकमा उनले भने । उनले एमसीसीमा संशोधन गर्ने बुँदाहरुबारे सत्तारुढ गठबन्धन दलका नेताहरुबीच छलफल भइरहेको बताए ।

‘कुन बुँदा संशोधन गर्ने भन्ने विषयबारे पनि छलफल भइरहेको छ । छलफलपछि बल्ल निचोड निस्किने हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादीका एक नेताले भने । प्रचण्डले कुनै पनि हालतमा सत्ता गठबन्धन नटुट्ने बताए । ‘प्रतिगमनको खतरा व्यापक छ । अहिले जसरी पनि गठबन्धन भत्काउन खोजिएको छ । तर निश्चित कार्यको लागि गठबन्धन बनेकाले यो अहिल्यै टुट्दैन,’ उनले भने । प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे सम्बोधन गर्दै आगामी स्थानीय निर्वाचन तयारीका लागि पार्टी पंक्तिलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्नुपर्ने सत्तारुढ दलहरुबीच प्रस्ताव गरेका छन् । उनले गठबन्धन भत्काएर भए पनि एमसीसी पास गर्ने रणनीति लिएपछि अहिले एमसीसीका विषयमा व्यापक छलफल भइरहेको छ । माओवादीभित्र एमसीसीको विषयमा विभिन्न धारहरु रहेको भन्दै प्रचण्डलाई यस विषयमा धारणा बनाउन अफ्ठ्यारो भएको उनी निकट नेताहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७