मोरङमा दुई जनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू


२१ माघ २०७८, शुक्रबार
Capture 3

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका- १२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका- ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको हत्या गर्ने समूहबाटै लिम्बूको पनि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

१२ र १३ माघमा धनपालथान बोर्डिङ टोलस्थित उखुबारीमा सुनसरी धरान उपमहानगरपालिका- ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका- ४ का शम्भु चौधरीको शव फेला परेको थियो । मोरङ हत्या अनुसन्धानका क्रममा पक्राउ परेका अनिलकुमार मण्डलले दिएको बयानकै आधारमा थेचोमा गाडिएको शवबारे प्रहरीले थाहा पाएको हो ।

अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीको संयुक्त प्रयासमा अनिलकुमार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई अनुसन्धानका लागि बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय लगिएको थियो । बयानका क्रममा उनले थेँचोमा पनि शव गाडिएको बताएका थिए ।

बिहीबार साँझ प्रहरी घटनास्थल पुग्दा प्रमोदको घरपछाडितर्फ माटोले केही पुरिएको जस्तो देखियो । प्रहरीले माटो हटायो । त्यसमुनि सिमेन्टको प्लास्टर भेटियो । प्लास्टर भर्खरै गरिएझैँ थियो । प्रहरीले एक-एक गरी प्लास्टर फुटायो । करिब पाँच फिट खनेपछि मोहनको शव पोको पारिएको अवस्थामा भेटियो ।

महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले मोरङस्थित उखुबारी र थेँचो हत्या एउटै समूहबाट भएको बताए । उनले भने, ‘सात दिनअघि मोरङको उखुबारीमा दुई व्यक्तिको शव गाडिएको अवस्थामा फेला परेको थियो । सोही हत्या घटना मोरङ प्रहरी र महाशाखाको टोलीले अनुसन्धान गर्दै थियो । यही क्रममा एकजना पक्राउ परे । उनले थेँचोमा गाडिएको शवबारे बताए । खनेर हेर्दा शव पनि भेटियो । त्यसो हुँदा दुवै हत्यामा एकै समूहको हात रहेको निष्कर्षमा प्रहरी छ ।’

अनिलकुमारकै बयानका आधारमा प्रहरीले थप दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । घटनामा पाँचदेखि ६ जना सहभागी हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्याका लागि भारतीय नागरिक समेत भाडामा प्रयोग गरिएको हुन सक्ने प्रहरीले जनायो । महाशाखा प्रमुख एसएसपी कुँवरले भने, ‘घटनामा पाँचदेखि ६ जना सहभागी हुन सक्ने देखिएको छ । हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका हुन सक्छन् । मोरङ प्रहरीसहित महाशाखा पनि अनुसन्धानमा लागेको छ ।’

मोहनको हत्यापछि राजेन्द्रकुमार र शम्भुनाथको हत्या
प्रहरीका अनुसार पक्राउ परेका अनिलकुमार मण्डलसहितको टोली मंसिर तेस्रो साता घर भाडामा दिन भन्दै थेँचोस्थित प्रमोद थापामगरको घर पुगेको थियो । घर कम्पाउन्डसहितको थियो । व्यापारिक कारोबारका लागि आवश्यक परेको उनीहरूले प्रमोदलाई बताए ।

प्रमोदले घर भाडामा दिने निणर्य गरे । त्यसपछि अनिलकुमारसहितको टोलीको घरमा आउजाउ हुन थाल्यो । त्यसैक्रममा सो टोलीले तेह्रथुमका मोहन लिम्बूलाई २८ मंसिरमा उक्त घरमा लगे । बन्धक बनाए । अनि घाँटी कसेर हत्या गरे । शव भने सोही घर नजिकै खाल्डो खनेर व्यवस्थापन गरे ।

अनिलकुमारकै टोलीले कारोबार मिलाउन भन्दै धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुनाथ चौधरीलाई मोरङ बोलाए । दुवैको त्यहीँ हत्या गरे । शव व्यवस्थापनका लागि धनपालथान गाउँपालिका- ७ स्थित उखुबारी रोजे । फरक-फरक खाल्डो खनेर दुवै शव पुरे, अनि फरार भए ।

अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मोरङमा दुवैको हत्या एकै दिन भएको अनुसन्धानमा खुलेको बताए । ‘२८ मंसिरमा यिनीहरूले मोहनको हत्या गरेजस्तो देखिन्छ । त्यसपछि मोरङमा राजेन्द्रकुमार र शम्भुनाथलाई बोलाएका छन् । उनीहरू पनि काठमाडौंबाट छुट्टाछुट्टै पुगेका छन् । र, दुवैको हत्या गरे जस्तो देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथ २८ मंसिरमै कारोबार मिलाउन भन्दै परिवारसँग बिदा भएर मोरङ गएका थिए । तर, उनीहरू ४ पुससम्म परिवारको सम्पर्कमा थिए ।

हत्याको कारण आर्थिक कारोबार
हत्या गरिएका शम्भुनाथ चौधरी स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका मालिक हुन् । उनको काठमाडौं- १७ मा कन्स्ट्रक्सनको कार्यालय छ । श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका थिए । काठमाडौंमा शम्भुनाथको बसाइ क्षेत्रपाटीमा थियो । राजेन्द्रकुमार भने भक्तपुर बस्थे ।

व्यवसायमा रहेको विवाद नै हत्याको कारण हुन सक्ने महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए । ‘यिनीहरू व्यवसायी हुन् । ठेक्कापट्टादेखि जग्गा कारोबारमा उनीहरू संलग्न भएको देखिन्छ । यही क्रममा भएको विवाद नै हत्याको कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७