ट्याक्टरले किच्दा सहचालकको घटनास्थलमै गयो ज्यान


२१ माघ २०७८, शुक्रबार
acci 1
फाइल फोटो

बझाङ । बझाङको थलारा गाउँपालिका-३, चाखुडीधारमा ट्याक्टरको चक्काले किचेर सहचालकको घटनास्थलमै मृत्यु भएको छ । थलारा-२ का २८ वर्षीय लालबहादुर दाहालको मृत्यु भएको हो ।

हिजो बेलुका करिब सवा ७ बजे झनना बजारबाट कफलडाँडातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२७ नम्बरको ट्याक्टर उकालोमा नचढी पछाडि सर्दा ट्याक्टर पछाडि उभिएका दाहाललाई किचेको थियो । ट्याक्टर चालक प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय थलाराले जानकारी दिएको छ ।

भ्यानको ठक्करबाट प्रहरीजवान घाइते
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१८ मा पिकअप भ्यानको ठक्करबाट प्रहरी कर्मचारी घाइते भएका छन् । घाइते हुनेमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा कार्यरत प्रहरीजवान सुरेन्द्र बुढा रहेका छन् । उनको नेपालगन्जस्थित नर्सिङहोममा उपचार भइरहेको छ ।

भे १ च ३६ २७ नम्बरको भ्यानले आज बिहान करिब साढे ६ बजे पैदल हिँडिरहेका बुढालाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७