‘कार्यकारीले ल्याएअनुसार राष्ट्रपतिले काम गर्ने हो, मैले सोहीअनुसार नै काम गर्दै आएको छु’

राष्ट्रपतिद्वारा ‘संसद्मा समिति प्रणाली : राष्ट्रिय सभा विशेष’ पुस्तक सार्वजनिक


२१ माघ २०७८, शुक्रबार
thumb 2

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् सचिवालयले प्रकाशित गरेको ‘संसद्मा समिति प्रणाली : राष्ट्रिय सभा विशेष’ पुस्तक सार्वजनिक गरेकी छन् । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रिय सभामा समिति प्रणालीको अवधारणा तथा अभ्यास लगायतका विषय समेटेर प्रकाशन गरिएको पुस्तक सार्वजनिक गरेकी हुन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रिय सभा अन्तर्गतका समिति सभापति, राष्ट्रिय सभा सचिव लगायतको उपस्थितिमा शुक्रबार पुस्तक सार्वजनिक गरिएको हो ।

राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रिय सभाले छोटो समयमा परिपक्वता देखाएको बताएकी थिइन् । राष्ट्रिय सभा स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिले निर्वाचित गर्ने प्रतिनिधिको संस्था भएकाले यसको भूमिका विशिष्ट भएको उनको भनाइ थियो । राष्ट्रिय सभाले आफ्नो विशिष्ट भूमिकाको पहिचान गरी नियमित कामसँगै अभिलेख व्यवस्थापन, अनुसन्धान र प्रकाशनमा समेत जोड दिएकोमा उनले प्रशंसा गरेकी थिइन् ।

‘अहिले सांसदहरूले अध्ययन, लेखन अनुसन्धानमा त्यति ध्यान नदिएको कुराहरू आउने गर्छन्,’ उनले भनिन्, ’राष्ट्रिय सभा र संसद् सचिवालयले अध्ययन, लेखन तथा प्रकाशन गर्ने परम्पराको थालनी गरेको छ । यसको निरन्तरताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

संघीय संसद् संविधान संशोधन गर्ने, सरकार बनाउने, सरकारले संविधान र कानुनबमोजिम काम गरे वा नगरेको निगरानी गर्ने तथा जनताको पक्षमा काम गर्न निर्देशन गर्ने विशिष्ट थलो भएको राष्ट्रपतिको भनाइ थियो । ’संघीय संसद्ले आफ्नो भूमिका र जिम्मेवारीबोध गर्दै समयअनुसार प्रभावकारी ढंगले काम गर्न म आग्रह गर्दछु,’ उनले भनिन्, ’संसद्का सबै बैठक, विधिलाई राम्रोसँग अभिलेखीकरण गरेमा भविष्यमा यसका अध्येता र अभ्यासकर्तालाई सहज हुनेछ ।’

राज्यका सबै निकायले आफ्नो भूमिका संविधान र कानुनबमोजिम निर्वाह गरेमा लोकतन्त्र र देशको अर्थतन्त्र मजबुत बन्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । संविधानले राष्ट्रपतिलाई कार्यकारी नभई संवैधानिक बनाएको उल्लेख गर्दै उनले भनिन्, ’कार्यकारीले ल्याएअनुसार राष्ट्रपतिले काम गर्ने हो । मैले त्यहीअनुसार नै काम गर्दै आएको छु ।’

राष्ट्रिय सभाका समितिहरूका गतिविधि समेटिको पुस्तकमा १० लेख छन् । पुस्तकमा राष्ट्रिय सभाका समितिहरूमा चार वर्ष नेतृत्व गरेका समिति सभापति, राष्ट्रिय सभाको समावेशी स्वरुप प्रतिनिधित्व हुनेगरी छनोट गरिएका सांसदहरूको विचार समेटिएको छ ।

त्यसैगरी संघीय संसद्मा समिति प्रणालीको प्रभावकारिता, समिति प्रणालीको अन्तर्राष्ट्रिय विकास र अभ्यासको नमुनाका रूपमा अस्ट्रेलिया र अमेरिकी प्रणालीबारे विज्ञहरूका लेख पनि पुस्तकमा समेटिएका छन् । पुस्तकको सम्पादन राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले गरेका हुन् ।पुस्तकले राष्ट्रिय सभा र त्यस अन्तर्गतका समितिले कसरी काम गर्छन् भन्ने जनकारी पाउन, आगामी दिनमा सुधार गर्नुपर्ने विषय तथा संसदीय प्रणालीलाई थप मजबुत बनाउन मद्दत पुर्‍याउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७