पशुपति क्षेत्रका फूल पसल र अस्थायी टहरा व्यवस्थित गरिँदै


२१ माघ २०७८, शुक्रबार
pashupati byapar tahara
फाइल फोटो

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित फूलपसल एवं टहरा १५ दिनभित्र व्यवस्थित गर्न सार्वजनिक सूचना प्रकाशन गरेर आह्वान गरेको छ । पशुपति क्षेत्रका मूल सडक, सहायक सडकका पेटी, डबली र खुला चौर, कैलाश डाँडा, मृगस्थली, गोरखनाथ क्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुण्डोल क्षेत्र समेतमा अव्यवस्थित फूलपसल एवं टहरा राखिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

यी क्षेत्रमा अव्यवस्थित तवरले छाप्रा बनाइ फूल एवं उपहारजन्य पसल सञ्चालनमा ल्याउँदा पशुपति क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको छ । जसका कारण विश्वका विभिन्न भागबाट आउने तीर्थयात्री एवं पर्यटकका माध्यमबाट विश्वभर सकारात्मक सन्देश प्रवाह हुनसकेको छैन ।

भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकमासमेत यसले हिँडडुलमा समस्या हुनुका साथै नकारात्मक असर गरेको छ । पशुपति क्षेत्रको मापदण्ड एवं कोषको स्वीकृति नलिइ सञ्चालित पसल एवं बसोबासका लागि बनाइएका अस्थायी टहरा र वनकाली वनगणेश क्षेत्रमा रहेका अस्थायी फूल पसल, पूजा सामग्री पसल, पूजा भाँडा पसल पनि हटाएर व्यवस्थित गर्न कोषले सुचित गरेको छ । पसल सञ्चालकसँग कोषले यसअघि गरेको सहमति बमोजिम निर्माण गरेको स्थायी संरचनामा गोला प्रथाबाट छनोट गरी व्यवसाय गर्न दिइने कोषका सदस्य सचिव डा मीलनकुमार थापाले जानकारी दिए ।

पशुपति क्षेत्रबाट व्यवसायीलाई हटाउन नभइ व्यवस्थित गर्न लागेको उनले सुनाए । पशुपति क्षेत्रलाई आकर्षक धार्मिक गन्तव्यका रुपमा विकास गर्न कोषले अव्यवस्थित संरचना हटाएर व्यवस्थित, सफा सुग्घरस्थलका रुपमा विकास गर्न लागेको हो । पशुपति क्षेत्रलाई प्रदूषणमुक्त बनाउन गत असोज महिनाको पहिलो शनिबारदेखि स्वच्छ पशुपति अभियान सुरु गरिएको छ । अभियानमा कलाकार एवं स्थानीयवासीको सहभागिता जुट्ने गरेको छ ।

स्थायी संरचनामा कोषको सार्वजनिक खरिद महाशाखासँग समन्वय गरेर पसल सञ्चालनका लागि गोलाप्रथाबाट छानिएकाले सामान सारेर व्यवसाय गर्न सक्ने छन् । हाल गोलाप्रथाबाट नछानिनेका लागि आवश्यकता र औचित्यका आधारमा पसल उपलब्ध गराउँदै जाने योजना बनाइएको कोषले जनाएको छ । कोषले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र पसल नसार्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने भएको छ । १५ दिनभित्र नहटाइने पसल एवं सामान कोषले आफै हटाउने तयारी गरेको छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पनि सम्बन्धित पसल सञ्चालकले नै लिनुपर्ने छ ।

कोषले घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्न पैदलयात्रीलाई असर गर्ने गरी राखिएका पाली एवं टहरा, नाङ्ले पसलसमेत १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । यसअघि पनि कोषले यस्तो सूचना प्रकाशन गरेकामा कोरोना महामारी फैलिएका कारण कार्यान्वयन हुनसकेको थिएन । यसपटक भने कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले गत हप्ता पशुपति क्षेत्रको अवलोकन गरी व्यवस्थित गर्न सम्बन्धित सबैलाई निर्देशन दिएकाले कार्यान्वयन हुन लागेको हो ।

पशुपति क्षेत्रमा यसअघि गोलाप्रथाबाट १९९ जनालाई फूलपसल राख्ने अनुमति दिइएको थियो । पछि केही व्यवसायी थपिएपछि हाल त्यहाँ करिब २५० फूलपसल छन् । फूलपसल व्यवस्थित गर्न कोषले ६४ वटा पसल राख्न मिल्ने गरी स्थायी भवन निर्माण गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यो भवनमा गोलाप्रथाबाट ६४ पसल छान्ने तयारी कोषले गरेको छ ।

व्यवस्थित गर्ने क्रममा बाँकीलाई भने नयाँ संरचना निर्माण हुँदा अवसर दिने नीति कोषले लिएको छ । कोषले विसं २०५८ मा पशुपति क्षेत्रबाट विस्थापित भएकाका लागि उपहार पसल सञ्चालनका लागि पनि स्थायी संरचना निर्माण गरेको थियो । पशुपति क्षेत्रलाई खुला गर्ने क्रममा जग्गा अधिग्रहण गरेको परिवारलाई उपहार पसल चलाउन प्राथमिकताका साथ राखिएको थियो । उपहार पसलका रुपमा २६ वटा पसल सञ्चालनमा छन् । भत्केका घरका सटरमा पसल चलाउनेलाई पनि उपहार पसल चलाउन प्राथमिकताका साथ राखेको कोषले जनाइएको छ ।

पशुपति क्षेत्रमा सुधार अभियानलाई निरन्तरता दिने तयारीसमेत गरिएको छ। यस क्षेत्रका जीणर् भवन, पाटी पौवालाई सुधार गरेर अघि बढाइने तयारी भएको छ । भक्तजनलाई पशुपति क्षेत्रमा जाऔँ-जाऔँ लाग्ने गरी व्यवस्थित गर्न लागिएको सदस्य सचिव थापाले सुनाए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७