वर्षा र हिमपात आज पनि जारी रहने, रातिदेखि तराईको मौसममा सुधार आउने

यस्तो छ सोमबार रातिसम्मको मौसम पूर्वानुमान


२२ माघ २०७८, शनिबार
chandragiri 3 pI8wUHGSQZ

काठमाडौं । नेपालमा वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको मौसमविदले बताएका छन् । जसका कारण यतिबेला (शनिबार बिहान) प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहने छ । यस क्रममा प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै आज राति प्रदेश-१, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहने छ । तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ ।

महाशाखाको बुलेटिनअनुसार आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
यस्तै सोमबार दिउँसो प्रदेश-१, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना बुलेटिनमा उल्लेख छ ।

त्यस दिन राति प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । देशका पूर्वी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

शुक्रबार कहाँ कति पानी पर्‍यो ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विवरणमा काठमाडौँमा शुक्रबार ४१ मिलिमिटर वर्षा भएको छ। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार दिनभर घाम नदेखिएकाले निकै जाडो भएको थियो । शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस थियो । शुक्रबार सबैभन्दा बढी नेपालगन्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७