जिल्ला प्रशासन कार्यालय काभ्रेले आलोपालो प्रणालीमा सेवा दिने


२२ माघ २०७८, शनिबार
CEO Kavre

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले भोलि (आइतबार) देखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई साता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो प्रणालीका आधारमा सेवा सुचारु गर्न लागेको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य-सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड-१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो । जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मङ्गलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने छन् ।

यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ । महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा उपलव्ध हुनेछ। सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, काभ्रेमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण दर दैनिक घटिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा सङ्क्रमण देखिएको छ भने १४६ सङ्क्रमण मुक्त भएका छन् ।

हाल जिल्लाको १३ स्थानीय तहमा ४०३ कोरोना सक्रीय सङ्क्रमित छन् । जिल्लामा हालसम्म १७ हजार ३८४ मा सङ्क्रमण देखिएकोमा १९५ को मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ९६ दशमलब ५६ प्रतिशत अर्थात् १६ हजार ७८६ सङ्क्रमणमुक्त भएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७