गृहमन्त्री खाँणद्वारा विपदजन्य घटनाबाट प्रभावितलाई राहतको व्यवस्था गर्न निर्देशन


२२ माघ २०७८, शनिबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अफ्टेरोमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शनिबार बिहान गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला र हिमाली क्षेत्रका आठ प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अफ्ट्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका-१२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिए । गृहमन्त्री खाँणले बिहान सहायक प्रमुख जिल्ला अधिकारी कुमारी र नेपाल प्रहरीका जिल्ला प्रमुख बसन्त रजौरेलाई बच्चाहरूको अन्त्यष्टी र अन्य आवश्यक राहतको व्यवस्था मिलाउने निर्देशन दिए ।

त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका एकमा कच्ची खपडाको घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमति ४५ फुलमतियादेवी मृत्यु भएको थियो । त्यही घरमा रहेका दुई बाख्रा पनि च्यापिएर मरेको जनाइएको छ । गृहमन्त्री खाँणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।
गृहमन्त्री खाँणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शित लहरमा परेर अफ्टेरोमा कोही परेको भए राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिएका छन् ।

त्यस्तै मन्त्री खाँणले प्रमुख जिल्ला अधिकारीहरू दिर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी पर्साई (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल खोटाङलाई हिमपातको असर कस्तो छ, तत्काल व्यवस्थापन गर्नु पर्ने के छ सतर्क रहेर काम गर्नुहोला भन्ने निर्देशन दिएका छन् ।

त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि कुराकानी गरेर जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् । सोलुखुम्बुका प्रजिअ शाहीले मन्त्री खाणले हिमपातको असर र व्यवस्थापनबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७