तीन व्यवसायीको हत्या प्रकरण : थप दुई आरोपी सार्वजनिक


२२ माघ २०७८, शनिबार
morang m 6JQwdut7zH

काठमाडौं । मोरङको धानपालथान-७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुई जना र ललितपुरको धापाखेलमा एक जनालाई हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका-६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जनाएको छ ।

यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा तीन जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका-४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका-७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।

मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिसन’ बाँडफाँडमा विवाद भएपछि तीन जनाको हत्या भएको प्रहरीको भनाई छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका-३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका-७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७