घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड


२२ माघ २०७८, शनिबार
ghalegaun33.jpg hWiPgDmizj

लमजुङ । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओइरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेंसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओइरो लागेको हो ।

वर्षाका कारण लमजुङका सबैजसो अग्ला स्थानमा हिउँ सजिलै देख्न सकिन्छ । हिमपातका कारण सार्क नमुना पर्यटकीय घलेगाउँ र पर्यटकीय गाउँ कल्मेडाँडामा चहलपहल बढेको छ । कोरोना संक्रमण जोखिमका कारण सुनसान बनेका पर्यटकीय गन्तव्यहरुमा पर्यटक बढेसँगै स्थानीय पर्यटन व्यवसायी खुशी भएका छन् ।

हिमपातसँगै चिसो अत्याधिक बढेको र चिसोका कारण बालबालिका र वृद्धवृद्धा प्रभावित भएको घलेगाउँका विष्णुमाया घले बताउँछिन् । तर, अहिलेको हिमपात र बालिनाली सप्रिने भएकाले किसानहरू भने खुसी भएका छन् । सुख्खा जमिनमा हिमबर्षा हुँदा सिंचाई पुग्नुका साथै जडिबुटी समेत उम्रने स्थानीय गमल बिकको भनाइ छ ।

घलेगाउँसँगै मर्स्याङ्दी सिउरुङ, हर्सिङडाँडा, बेंसीशहर नजिकैको वनक्षेत्र, दुधपोखरी, दोर्दीको माथिल्लो भेगलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातका कारण हरियो जंगल र काला पहाड पुरै सेताम्मे देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७