चार करोडको धनुष आकारको शहीद गेट निर्माण कार्य अन्तिम चरणमा


२२ माघ २०७८, शनिबार

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूणर् योजना मानिएको धनुष आकारको शहीद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ ।

मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस शहीद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए । ढल्केवर-जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेस शहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र शहीदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाको करिब चार करोडको लागतमा निर्माण भइरहेको शहीद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ । धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको शहीद गेट निर्माण गर्न लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको शहीद गेट निर्माण गर्ने निणर्य गरेका थिए ।

त्यही निणर्यका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो शहीद गेटको शिलान्यास गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो ।

त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिए । ‘गेटको काम करिब करिब सकिएको छ,’ उनले भने, ‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतिमा र तीनवटा पिलरमाथि शहीदहरुको प्रतिमा राख्न मात्र बाँकी छ । त्यो पनि केही दिनभित्रै सम्पन्न हुन्छ ।’

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीनवटा पिलरमा सहिदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ। सो गेटको दुबै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूणर् शहीदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उनले बताए।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७