कोरोनाबाट पर्सामा थप एकको मृत्यु


२२ माघ २०७८, शनिबार
korona covid 19 6 scaled

पर्सा । कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा एक पुरुषको मृत्यु भएको छ । रौतहट दीपही माधव नारायण नगरपालिका-१ का ७० वर्षीय वृद्धको शनिबार बिहान १०ः५५ मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका कोभिड संयोजक डा उदयनाराण सिंहका अनुसार, अर्को अस्पतालबाट रिफर गरिएका वृद्धलाई शुक्रबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टीजेन परीक्षणबाट उनमा कोरोना पुष्टि भएको थियो । डा सिंहका अनुसार उनलाई निमोनियासँगै मुटु रोग र घाँटीमा पनि समस्या थियो । उनले भेरोसिलको दुबै डोज खोप लगाएका थिए । वीरगन्जमा कोरोनाको तेस्रो लहरमा मृत्यु हुने संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये ५ बाराका, २ पर्सा र २ रौतहटका छन् ।

संक्रमितको संख्या घट्दै

डेढ सातायता जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको डा सिंहले बताए । नारायणी अस्पतालमा पनि शनिबार ३ जना कोरोना संक्रमित मात्र रहेको उनले बताए । तीमध्ये २ को अवस्था सामान्य र १ जना भेन्टिलेटरमा रहेका छन् । आउँदो १ साताभित्र कोरोना संक्रमणको ग्राफ अत्यन्त न्यून हुने सम्भावना रहेको उनले बताए ।

अस्पतालको प्रयोगशालामा शुक्रबार २७ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको उनले बताए । तीमध्ये ५ पुरुष र ३ महिला छन् । संक्रमितहरु १ देखि ८० वर्ष उमेर समूहका छन् । ‘सर्वसाधारणले सावधानी अपनाउने हो भने संक्रमण दर तीव्ररुपमा ओरालो लाग्छ,’ उनले भने, ‘मास्क अनिवार्य रुपमा गाउने, भौतिक दुरी कायम गर्ने, साबुन पानीले बेला बेलामा हात धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अझै आवश्यक छ ।’

५२ हजार किशोर-किशोरीलाई खोप लगाइँदै

जिल्लामा ५२ हजार किशोर-किशोरीलाई कोरोना विरुद्धको खोप मोडर्ना लगाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरका अनुसार, विगतमा मोडर्नाको पहिलो डोज लिइसकेका २६ हजार र थप ५२ हजार किशोरकिशोरीहरुलाई खोप लगाउने कार्यक्रम जिल्लाभरी सञ्चालनमा रहेको छ । अधिकांश स्कुल तथा सार्वजनिक खोप केन्द्र आदिमा किशोर-किशोरीलाई खोप दिने काम चलिरहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७