अफगानिस्तानमा ३१८ मिडिया बन्द, २७ सय पत्रकारले गुमाए जागिर


२२ माघ २०७८, शनिबार
media censorship in afghan SPfl61kM6I

काबुल । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएयता ३१८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । ५१ वटा टिभि स्टेशन, एक सय ३२ वटा रेडियो र ४९ वटा अनलाइन सञ्चार माध्यम बन्द भएका हुन् ।

तालिबानले सत्ता सम्हालेपछि सबैभन्दा ठूलो असर पत्रिकामा परेको छ । अफगानिस्तानमा एक सय ४४ वटामध्ये हाल २० वटा मात्रै पत्रिका प्रकाशनमा रहेको आईएफजेको रिपोर्टलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस्तै पाँच हजार ६९ जना पत्रकारमध्ये हाल दुई हजार तीन सय २३ जना पत्रकार मात्रै कार्यरत रहेको र जागिर गुमाएकामध्ये ७२ प्रतिशत महिला रहेको खबरमा उल्लेख छ । दुई सय ४३ जना महिला अझै काममै रहेका छन् । रिर्पोटिङमा तालिबानको प्रतिबन्ध, आर्थिक संकट र विकास साझेदारले सहयोग रोकेपछि अफगानिस्तानमा सञ्चारमाध्यम बन्द हुने र पत्रकारले जागिर गुमाउने क्रम बढेको छ ।

अफगानिस्तानको मिडिया समाजले सूचना पाउने नागरिकको हकको सम्मानको लागि भए पनि मिडिया बन्द हुने अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । अफगान स्वतन्त्र पत्रकार संघका अध्यक्ष हजतुल्लाह मुजादिदिले मिडियाको अवस्थालाई लिएर तत्कालै कदम नचालेमा निकट भविष्यमा अफगानिस्तानमा तालिबान नजिकका सीमित मिडिया मात्रै बाँकी रहने बताएका छन् ।

यस्तै, अफगानिस्तान पत्रकार काउन्सिलका प्रमुख हफिजुल्लाह बराकजाईले अफगानिस्तानमा सूचनाको पहुँच बढाइरहनको लागि अन्तर्राष्ट्रिय समुदायलाई मिडिया क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७