रोकियो बर्षा र हिमपात, आजबाट देशभर घाम लाग्ने

मंगलबारसम्मको यस्तो छ मौसम पूर्वानुमान


२३ माघ २०७८, आईतवार
kathamandu scaled

काठमाडौं । आज (आइतबार) बाट मौसममा पूणर् सुधार हुने र दिन घमाइलो हुने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ ।

आजदेखि दुई-तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसोे घाम लाग्नेछ । अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नभएको महाशाखाले जनाएको छ । गएको बुधबार रातिदेखि नेपाल प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरै ठाउँमा वर्षा र हिमपात हुँदा चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ । केही दिनयता देशभर हिमपात र वर्षा भइरहेको थियो । मौसमविद्का अनुसार शनिबार रातिदेखि मौसम सुधार हुँदै गएको हो ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबारसम्मको मौसम अनुमान यस्तो छ-

माघ २३ गते आइतबार (आज)
दिउँसो- देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

राति-प्रदेश-१ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

माघ २४ गते सोमबार
दिउँसो – प्रदेश-१, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति -प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ २५ गते मंगलबार
दिउँसो-प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति -प्रदेश-१, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका तराई भूभागमा हुसु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

(नोट – मौसमविद्का अनुसार दिउँसो भन्नाले त्यस दिनको बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७