गोकुल बाँस्कोटाको कटाक्ष : प्रचण्डले युटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि अगावै देखिएला ?


२४ माघ २०७८, सोमबार
Gokul Baskota 1

काठमाडौं । पूर्व सञ्चारमन्त्री एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोहोरो चरित्र देखाएको भन्दै कटाक्ष गरेका छन् ।

बाँस्कोटाले प्रचण्ड युटर्न हुन हप्ता दिन लाग्ला कि त्योभन्दा अगावै देखिएला भन्दै प्रश्न समेत गरेका छन् । बोलीमा ठेगान नभएको सङ्केत गर्दै उनले भनेका छन्, ‘प्रचण्डले युटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?’ प्रचण्डले सार्वजनिक रुपमा एमसीसी संशोधन नगरी संसद्बाट अनुमोदन नहुने बताएपनि एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र आइतबार सार्वजनिक भएको छ ।

पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । त्यस्तै, एमसीसी मुख्यालयले शुक्रबार देउवा र प्रचण्डलाई जवाफी पत्र पठाएर सम्झौता फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र अनुमोदन गरिसक्न समयसीमा दिएको पाइएको छ । दुवै नेताले दिएको समय सीमाभित्रै सम्झौता संसद्बाट पारित हुने विश्वास अमेरिकाले लिएको पत्रमा जनाइएको छ ।

बाँस्कोटाले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले परराष्ट्र सम्बन्ध ध्वस्त पारेको आरोप लगाउनेलाई समेत व्यङ्गय गरेका छन् । ‘परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरुले ज्ञान फिट्न परो ।’ सोमबार उनले भनेका छन्,‘ओलीले ध्वस्त पारेको विेदेश सम्बन्ध सप्रेको देख्न मन छ । पाँच महिनामै सन्तुलनको डोरी चुड्ने गरी तान्न नहुनेथ्यो। तर केही छैन । बाँकी-तालको पानी माछीले खाने ।’

यसैगरी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की एमसीसी अति उत्तम भनी सही पनि गर्ने र खै के हो भनी अध्ययन कार्यदलको सदस्य बसेको भन्दै टिप्पणी गरेका छन् । उनले संसद्बाट छिट्टै पास गर्ने बाचा गर्दै अमेरिकालाई चिठ्ठी लेख्ने प्रचण्ड अनि धारणा चै एमालेको चाहिने भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफँ चिठ्ठी लेख्ने र संशोधन बिना पास हुन्न भन्ने प्रचण्ड । धारणा चै एमालेको चाहिने ? यो त -नौटंकी नै हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७