माओवादी सांसद सुदन किराँतीको प्रस्ताव : एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रह गरौं

‘नेपाललाई खसी चाहिएको छ तर, खुवाइँदैछ फर्सी’


२४ माघ २०७८, सोमबार
Sudan Kirati
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रहको प्रस्ताव राखेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा माओवादी सांसद किराँतीले एमसीसी राष्ट्रिय स्वाधीनताको विषय बनेकाले यसलाई संसदको सामान्य बहुमतले पास गर्नुभन्दा जनमत संग्रहमा लैजान माग गरेका हुन् । सांसद राईले एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै यसलाई त्यतिकै पास गर्न नहुने र मुलुक समेत यसमा विभाजित भएकाले सबै पक्ष सम्मिलित गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।

सांसद किराँतीले एमसीसीको विरोधमा सडकमा जनता बोलिरहेको अवस्थामा राम्रै हो भन्ने हो भने जनमत संग्रह गर्न तयार हुनुपर्ने बताएका हुन् । ‘एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् । राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं न त,’ उनको सुझाव थियो, ‘या एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।’

एमसीसी ‘राष्ट्रघाती नै’ भएको सांसद किराँतीको भनाइ थियो । ‘नेपाललाई खसी चाहिएको छ तर खुवाइँदैछ फर्सी’ भन्दै विकासका नाममा राष्ट्रिय हितविरुद्धको सम्झौता स्वीकार्य नहुने उनको भनाइ थियो ।

किराँतीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए । ‘उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन,’ उनले भने । नेपालमा शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादा पूरा नगरिरहेको किराँतीको भनाइ थियो । उनले बहालवाला प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखसँग घण्टौ वार्ता गर्ने, शीर्ष पदमा पुगेकाहरू विवादित विषयमा नबोलिरहेको बारेमा पनि शंका उत्पन्न भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७