देशको द्रुत विकासका लागि शान्ति आवश्यक : गृहमन्त्री खाँण


२४ माघ २०७८, सोमबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनलाई सुधार गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना-२०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए । संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे ।

गृहमन्त्री खाँणले भने, ‘गृह प्रशासन र सुरक्षामा लगाइएको प्रदान गरिने बजेटले राष्ट्रलाई शान्त र सम्मुन्नत गराउन मद्दत गर्छ । सरसर्ती हेर्दाखेरि यसलाई विकास बजेटको रुपमा नहेरियतापनि मुलुकको द्रुत विकासको चाहानालाई पुरा गर्नका लागि पनि मुलुकमा शान्ति आवश्यक छ । र शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ। यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । ति जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठूलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

गृहमन्त्री खाँणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए । अध्यागमनका गेटहरुलाई आधुनिकिकरण गर्नुपर्ने पनि उनले बताए । पछिल्लो समय भिजिट भिसामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले उल्लेख गरे ।

उनले भने, ‘अध्यागमनलाई प्रयोग गर्नेको संख्या दिनानुदिन बढिराखेको छ । विभिन्न खालका सुरक्षालाई गम्भीर पार्ने खालका गतिविधि पनि विभिन्न ठाउँमा भएका छन् । त्यसकारण नेपाल आउने मान्छेको पनि यथार्थ प्रोफाइल अध्यागमनसँग रहन सकोस् या सुरक्षा निकायसँग रहन सकोस् । नेपालबाट बाहिर जानेहरुको पनि तथ्यांक पनि होस् र के प्रयोजनका लागि जाने हो त्यसै प्रयोजनमा त्यहाँ उहाँहरु रहनुहोस् भन्ने नै हाम्रो प्रयत्न हो । त्यसकालागि पासपोर्ट पनि नयाँ प्रविधियुक्त हुँदै जाने र त्यही अनुसार अध्यागमनबाट आवतजावत गर्ने क्रममा अध्यागमन गेटहरूलाई पनि हामीले अत्याधुनिकरण गर्नुपर्ने त्यस्तो अवस्था छ ।’

गृहमन्त्री खाँणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशीलता ल्याउनुपर्नेमा जोड दिए । कार्यशैलीलाई पनि तीब्र गतिमा आधुनिकीकरण गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७