मेलम्चीको मुहानबाट दैनिक पाँच सय टिपर गेग्रान पन्छाइँदै

काठमाडौं । गत १ असार र १५ साउनको बाढी-पहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाका संरचना मर्मत गरी वैशाखसम्म काठमाडौंमा पुनः पानी ल्याउन अहिले मुहान सफाइ चलिरहेको छ । १४ माघदेखि हेडवर्क्स र सुरुङबाट दैनिक पाँच सय टिपर गेग्रान पन्छाइँदै छ ।
‘हेडवर्क्स र सुरुङ गेग्रान तथा ढुंगाले पुरिएको थियो । १० दिनदेखि दैनिक पाँच सय टिपरका दरले हटाइरहेका छौँ,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘सफा गर्ने क्रममा ठूला ढुंगा पनि भेटिएका छन् । ती ढुंगा हटाउन विस्फोट नै गर्नुपर्ने अवस्था छ । जनशक्ति र स्रोत पर्याप्त मात्रामा उपलब्ध भए वैशाखसम्म पानी काठमाडौं ल्याउन सक्छौँ ।’ आयोजना पुनः सञ्चालन कार्ययोजनाअन्तर्गत हेडवक्र्स क्षेत्रको सफाइ र अस्थायी क्याम्प बनाउने जिम्मा समितिलाई छ ।
हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो र पुल हेलम्बु गाउँपालिकाले निर्माण गरिसकेको छ । मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूणर् रूपमा क्षति भएको थियो भने यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको थियो । त्यहाँसम्म पुग्ने ६ वटा पक्की पुल पनि बगाएको थियो । गाउँपालिकाले उक्त सडक तीन करोड लागतमा बनाएको हो । समितिले क्षतिग्रस्त आयोजना पुनर्निर्माणको जिम्मा भने चाइनिज कम्पनी सिनोहाइड्रोलाई नै दिएको छ ।
बाढीले मुख्य संरचना सुरुङ र हेडवर्क्सबाहेकमा पनि क्षति पुर्याएको छ । निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । वैकल्पिक पथान्तरण प्रणाली (हेडवर्क्स डाइभर्सन सुरुङ) थुनिएको छ । पहिरोले आयोजनाको दुई सय १० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको थियो । किउल, शेर्माथाङ, तिम्बु, सार्केथली, अम्बाथान, चनौटे, मेलम्ची, पाल्चोक, ग्याल्थुम, तालामाराङ, सिपाघाटलगायत क्षेत्रमा असर गरेको थियो ।
२२ वर्षको प्रतीक्षापछि गत १५ चैतमा मेलम्चीको पानी काठमाडौंका बासिन्दाले प्रयोग गर्न पाएका थिए । दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट आएसँगै उपत्यकावासीले केही हदसम्म भए पनि राहत पाएका थिए । तर, वितरणको तीन महिना नहुँदै बाढीले आयोजनामा क्षति पुर्याएपछि पानी फेरि कहिले आउँछ अनिश्चित छ । वैशाखसम्म ल्याउने सरकारको कसरत छ । नयाँ पत्रिका दैनिकबाट