वीर अस्पतालको कोभिडजन्य संक्रामक फोहोर असुरक्षित रूपमै उठाउन सफाइकर्मी बाध्य


२५ माघ २०७८, मंगलवार
Capture 7

काठमाडौं । तीन दिनदेखि लगातार परेको पानीका कारण उठ्न नसकेको वीर अस्पतालको फोहोर आइतबार बेलुका सफाइकर्मीहरू गाडीमा भर्दै थिए । फोहोर उठाएर सिसडोल पुर्‍याउनुपर्ने हतारोमा रहेका संकलकहरूको मुखमा न मास्क थियो न फेससिल्ड ।

अस्पतालका सफाइकर्मीका अनुसार तीन दिनदेखि थुपारिएको फोहोर कोभिड वार्डबाट निकालिएको हो । तर, संक्रामक फोहोर संकलन गर्दा संक्रमण हुन सक्ने जोखिमलाई अस्पताल र फोहोर उठाउने जिम्मा लिएको कम्पनीले बेवास्ता गर्दा सफाइकर्मी असुरक्षित अवस्थामै काम गर्न बाध्य भएका हुन् । वीरको मेडिकलजन्य फोहोर हातेमालो क्लिन सिटी प्रालिले उठाउँदै आएको छ ।

सुरुमा अस्पतालले नै ‘कोभिड- १९ महामारी आपत्कालीन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिका- २०७७’ ले तोकेको मापदण्ड उल्लंघन गरेको छ । नकुहिने, कुहिने, प्याथालोजिकल (साल, ट्युमर), धारिलो वस्तु, अन्य संक्रामक (कपास, गज, ब्लड ब्यागलगायत) र प्रयोग गरिएका व्यक्तिगत सुरक्षा सामग्री गरी संक्रमित फोहोर ६ किसिमले वर्गीकरण गर्नुपर्ने निर्देशिकाले प्रस्ट भनेको छ । फोहोरलाई जैविक खतरा लेखिएको झोलामा सुरक्षित राख्नुपर्छ  ।

नकुहिने कागज, प्लास्टिक, बोतल, धातुलगायतलाई अटोक्लेभ (भाँडोमा राखेर निर्मलीकरण गर्ने) गर्नुपर्छ । सुई अनिवार्य रूपमा काट्ने मेसिन प्रयोग गरेर अटोक्लेभ वा क्लोरिनको झोलमा डुबाएर खाल्टोमा फाल्नुपर्छ  । अति संक्रमित फोहोरमैलाको व्यवस्थापन २४ घन्टाभित्रमा गरिसक्न निर्देशिकाले निर्देश गरेको छ । तर, वीरले कोभिड वार्डबाट निस्केको फोहोर अन्य मेडिकलजन्य फोहोरसँगै थुपार्ने गरेको छ ।

अस्पतालकी फोहोर व्यवस्थापन शाखा प्रमुख राधा आचार्य भने सरसफाइकर्मीलाई दोष दिन्छिन् । ‘हामीले वार्डबाट निस्कने फोहोर अटोक्लेभ गरेर नै बाहिर पठाउने गरेका छौँ । अस्पतालमा माइक्रोवेभ नभएका कारण सिरिन्जलाई छुट्याएर अन्य फोहोर मात्रै बाहिर भण्डारण गर्ने गरेका छौँ । कहिलेकाहीँ सरसफाइकर्मीको गल्तीले निर्मलीकरण नगरी फोहोर बाहिर ल्याएको हुन सक्छ ।’

अस्पतालले गरेको लापरबाहीमाथि अर्को लापरबाही फोहोर व्यवस्थापन गर्ने कम्पनीले गरेको छ । फोहोरमैला व्यवस्थापनमा संलग्न व्यक्तिहरू फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक तालिमप्राप्त हुनुपर्ने निर्देशिकामा उल्लेख छ । उनीहरूले सुरक्षा सामग्रीहरू बुट, लामो बाहुला भएको गाउन, मोटो/बलियो पन्जा, मास्क, चस्मा वा फेससिल्ड लगाउनुपर्ने, यस्ता सामग्री लगाउनुअघि वा लगाइसकेपछि मापदण्डअनुसार हात धुनुपर्ने निर्देशिकामा प्रस्ट छ । तर, वीरको फोहोर उठाउँदै गरेको सफाइकर्मी यस्ता सामग्रीविना नै काममा खटिएका छन् ।

निर्देशिकाले सफाइकर्मी टिटानस, हेपाटाइटिस खोप लगाएको हुनुपर्ने, फोहोर व्यवस्थापनको समयमा प्रयोग गरिएका कपडा, पिपिई निर्मलीकरण गर्नुपर्ने व्यवस्था गरे पनि पन्जा समेत फेर्न नपाएको सफाइकर्मीको गुनासो छ । ‘दिनदिनै पन्जा फेर्न त कहाँ सम्भव छ र ? पिपिई सुरुसुरुमा लगाइयो, अब त कोभिड संक्रमण पनि हुँदैन,’ पन्जा र मास्कविनै फोहोर उठाइरहेका एक संकलकले भने ।

जीवाणुविज्ञ डा. सन्तोष दुलालका अनुसार संक्रमितले प्रयोग गरेका मास्क र अन्य मेडिकलजन्य वस्तुको सम्पर्कबाट संक्रमण सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । भाइरसको संक्रामकदरअनुसार विभिन्न वस्तुमा जीवित रहन सक्ने भएकाले निर्मलीकरण गर्नुपर्ने उनी बताउँछन् । ‘कोभिडजन्य फोहोरबाट त झन् संक्रमण सजिलै फैलिन सक्छ,’ उनी भन्छन्, ‘कोभिड वार्डबाट निस्कने फोहोर अनिवार्य अटोक्लेभ गर्नुपर्छ, यसमा अस्पतालहरूले बेवास्ता गर्न मिल्दैन ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७