दबाबपछि गृहकार्यमा प्रचण्ड

माओवादीले बोलायो केन्द्रीय कमिटीको बैठक


२५ माघ २०७८, मंगलवार
prachanda 1 1

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लेखेको पत्र सार्वजनिक भएपछि दबाबमा परेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्दैछ ।

केन्द्रीय समिति बैठक पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन बोलाइएको भएता पनि एमसीसी बैठकको मुख्य एजेन्डा बन्ने भएको छ । अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूसँग यस विषयमा आन्तरिक छलफल अगाडि बढाएका छन् । माओवादीभित्रै नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेताहरूले एमसीसीलाई प्रचण्डले लेखेको पत्रलाई लिएर चर्को आलोचना गर्दै आएका छन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पत्रको विषयलाई लिएर प्रचण्डको आलोचना गर्नुको कुनै तुक नभएको बताए । उनले भने, ‘प्रचण्ड संशोधन बिना एमसीसी पारित गर्न नसकिने अडानमा स्पष्ट हुनुहुन्छ, पार्टीभित्र एमसीसी अहिलेकै अवस्थामा पारित हुँदैन भन्नेमा कुनै भ्रम छैन ।’

एमसीसी सम्झौतालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्बाट पारित गर्ने बुँदा घुसाएको उल्लेख गर्दै नेता गजुरेलले विवादित एमसीसी सम्झौता अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने बताउँछन् । उनले भने, ‘राजनीतिक दलहरूको बीचमा साझा धारणा बनाएर मात्र अगाडि बढाउनु पर्छ भन्ने हाम्रो मत छ, सरकारले संसद्मा एमसीसी टेबुल गरे, हामी सरकार छोड्छौं ।’ यसअघि बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौतामा उल्लेख गरिएका कतिपय बुँदाहरू संशोधन गरेर मात्र पारित गर्न सकिने निणर्य गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७