नेपालले यूएईमा विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने


२५ माघ २०७८, मंगलवार
nepali cricket oKDghONEPb scaled

काठमाडौं । नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) र पपुवा न्युगिनीसँग आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्ने भएको छ ।

युएईले यही मार्च तेस्रो साता नेपाल र पपुवा न्युगिनीसँग त्रिकोणात्क श्रृंखला आयोजना गर्न लागेको हो । श्रृंखलाको विस्तृत खेल तालिका सार्वजनिक हुन बाँकी रहे पनि मार्च १५ देखि २२ सम्म शारजाह क्रिकेट रंगशालामा खेलहरु हुनेछन् । नेपालले आइसिसी विश्वकप लिग-२ मा हालसम्म दुई त्रिकोणात्मक श्रृंखला खेलेको छ ।

नेपालले २०२० मा काठमाडौंमा ओमान र अमेरिकासँग खेलेको थियो भने गत असोजमा ओमानमा ओमान र अमेरिकासँग भिडेको थियो । नेपाल आइसिसी विश्वकप लिग-२ मा ८ खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ । २०२३ सम्म चल्ने विश्वकप लिग-२ का शीर्ष तीन टोलीले सोझै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

अहिलेसम्म ओमान २२ खेलमा २९ अंक जोड्दै शीर्ष स्थानमा छ । १२ खेलबाट १६ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा रहँदा १६ खेलबाट १४ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहेको छ । युएई ११ अंकका साथ चौथो तथा नामिबिया १० अंकका साथ पाँचौं स्थानमा छ । नेपालको ८ अंक रहँदा पुछारको टोली पपुवा न्युगिनीले अंक जोड्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७