इजरायलको प्रहरीले फोन ह्याक गर्न स्पाइवेयर प्रयोग गरेको आरोप


२५ माघ २०७८, मंगलवार
Spyware1644254139

काठमाडौं । इजरायली सरकारले विना अधिकार प्रहरीले इजरायलका सार्वजनिक व्यक्तित्वहरूको फोन ह्याक गर्न स्पाइवेयर प्रयोग गरेको भन्ने आरोप माथि छानबिन गर्न एउटा अनुसन्धान आयोग गठन गरेको छ ।

इजरायली अखबार क्याल्कलिस्टले अदालतको आदेशविना नै प्रहरीले सरकारी अधिकारी, प्रदर्शनकारी र पत्रकारहरू तथा पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका छोराको फोन ह्याक गरेको बताएको छ । त्यसैगरी नेतान्याहुको भ्रष्टाचार मुद्दाका एक जना साक्षीको फोन पनि ह्याक भएको बताइएको छ । प्रधानमन्त्री नाफ्ताली बेन्नेटले यदि यो आरोप सत्य हो भने घटना निकै गम्भीर भएको प्रतिक्रिया दिएका छन् । प्रहरीले इजरायली सर्भेलियन्स कम्पनी एनएसओले विकास गरेको पेगासस सफ्टवेयर प्रयोग गरेको बताइएको छ ।

अहिले एनएसओले विश्वभरि अधिनायकवादी सरकारहरूलाई यो उत्पादन बिक्री गरी यसको दुरूपयोग गराएको व्यापक आरोप खेपिरहेको छ । यस कम्पनीले भने कुनै ग्राहकलाई सफ्टवेयर बिक्री भइसकेपछि त्यसलाई आफूले अपरेट गर्ने नगरेको अडान लिएको छ । साथै यसले पेगासस सफ्टवेयर इजरायली नागरिकमाथि प्रयोग गर्न नसकिने पनि जनाएको छ ।

तर पछिल्लो घटनाकाबारे भने एनएसओले केही बोलेको छैन । पेगाससको मद्दतले लक्षित व्यक्तिको फोन बिगारेर त्यसभित्रका मेसेज, तस्बिर, इमेल र रिकर्ड कल निकाल्न र अरूलाई थाहै नदिई फोनमा माइक्रोफोन र क्यामेरा चालु गर्न सकिन्छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७