पहिरोले अवरुद्ध मेची राजमार्ग चार महिनापछि खुल्यो


२५ माघ २०७८, मंगलवार
mechi highway
फाइल फोटो

इलाम । पहिरो गएर विगत चार महिनादेखि अवरुद्ध भएको मेची राजमार्ग सञ्चालनमा आएको छ । पहिरो झरेर बगेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।

मर्मतपछि एकतर्फी सडक सञ्चालनमा आएको इलामका प्रमुख जिल्ला अधिकारी महेन्द्र श्रेष्ठले जानकारी दिए । पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडकको ट्रयाक निर्माण गरिएको छ । तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको सीडीओ श्रेष्ठले जानकारी दिए । ‘यो राजमार्गमा जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुनेछ,’ श्रेष्ठले भने ।

मेची राजमार्गमा पहिरोको कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए । अब भने इलाम बजारको जामसमेत हटेका छ । करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने देखिएको छ । सो सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ । मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने कर्यालयले जनाएको छ ।

गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि साना सवारी इलाम बजार भएर एकतर्फीरूपमा चल्दै आएका थिए । ठूला मालवाहक सवारी भने रातको समयमा मात्र गुड्ने गरेका थिए । पाँचथर, ताप्लेजुङलगायत जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रबाट आएका ठूला सवारी धोबीधारा, झापा र सुनसरीलगायतबाट आएका ठूला सवारी जिरोकिलोमा पार्किङ गरी राखेर रातको समयमा ओहोरदोहोर गर्ने गरिएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७