गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

सबै खर्च प्रदेश सरकारले बेहोर्ने


२५ माघ २०७८, मंगलवार
pachi anchila hospital pokhara

पोखरा । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको १ हजार रुपैयाँसम्म शुल्क बिरामीका आफन्तले तिर्ने गरेका छन् ।

पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले सरकारी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगतको रु ७०० र निजीका लागि रु १ हजार लिने गरेको छ । रक्तदाताले स्वेच्छिक दिएको रगतको शुल्क लिने नहुने र निःशुल्क हुनुपर्ने माग भइरहेकामा अब गण्डकी प्रदेशका सम्पूणर् स्वास्थ्य संस्थामा उपचार गराइरहेका बिरामीलाई निःशुल्क रगत उपलब्ध हुने भएको हो । बिरामीले अब कुनै शुल्क तिर्न नपर्ने र सित्तैमा रगत दिने व्यवस्था सरकारले गरेको छ ।

आगामी फागुन १ गतेदेखि प्रदेशभित्रका सबै सरकारी तथा निजी अस्पतालमा रगत निःशुल्क गर्ने निणर्य प्रदेश सरकारले गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइने स्वास्थ्यमन्त्री मधु अधिकारीले बताइन् । प्रदेश सरकारले यसअघि गत मङ्सिर ८ गते पहिलोपटक प्रदेश स्वास्थ्य नीति जारी गरेको थियो। सोही नीतिमा रहेर रगत निःशुल्क उपलब्ध गराउने निणर्य गरिएको बताइन्छ ।

मन्त्री अधिकारीले भनिन्, ‘स्वास्थ्य सेवा प्रवाहका क्रममा रगतको आवश्यकता पर्ने बिरामी तथा दुर्घटनाका कारण रगत दिनुपर्ने व्यक्तिले आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अब रगत निःशुल्क पाउने छन् । यसबाट बिरामीको जीवन जोखिममा पर्ने अवस्था अन्त्य भई जनताको जीवन रक्षा गर्न सहयोग पुग्ने छ । निम्न आयस्तर भएका नागरिकलाई फाइदा समेत हुनेछ ।’

सरकारले रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौताको तयारी गरेको छ । केही दिनमै हुने सम्झौतापछि सरकारको निणर्य कार्यान्वयनमा जानेछ । सर्वसाधारणले दान गरेको रगत प्रयोगशाला परीक्षणपछि रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले बिरामीलाई उपलब्ध गराइरहेको छ ।

रक्तसञ्चार केन्द्रले सेवा शुल्कबापत बिरामीसँग लिने गरेको रकम अब सबै प्रदेश सरकारले नै भुक्तानी गर्नेगरी सम्झौता हुने मन्त्री अधिकारीले बताइन् । ‘रक्तसञ्चारले बिरामीसँग लिँदै आएको सबै रकम सरकारले भुक्तानी गरेर जनतालाई निःशुल्क उपलब्ध गराउने हो’, मन्त्री अधिकारीले भनिन्, ‘सो कार्यका लागि आवश्यक रकम सबै व्यवस्था गरिएको छ ।’

मन्त्रालयले रगत निःशुल्क गर्दा वार्षिक कति खर्च लाग्छ अहिल्यै यकिन नभए पनि प्रदेशका सबै जिल्लामा गरेर अनुमानित वार्षिक रु ३ करोड खर्च हुने जनाइएको छ । सरकारले बनाएको स्वास्थ्य नीतिको कार्यान्वयनका लागि रगत निःशुल्क गर्ने कार्यविधि बनाएर कार्यान्वयन गरिएको बताइन्छ । स्वास्थ्य नीतिमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको पहुँच बढाइने नीति अवलम्बन गर्ने उल्लेख छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आफूहरूले रगत निःशुल्क हुनुपर्दछ भनेर पहिलादेखि नै माग गरेको जानकारी दिँदै सरकारको निणर्यले गरिब विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिक बढी लाभान्वित हुने बताए ।

उनले भने, ‘रगत निःशुल्क हुनुपर्दछ भनेर केन्द्रबाट पहिलेदेखि नै माग गरेका थियौँ, रक्तदाताले पनि उठाउँदै आउनुभएको हो । हामीले रगत दिन्छौँ, रक्तसञ्चारले पैसा लिन्छ भन्ने भ्रम पनि रक्तदातामा थियो तर हामीले रगतको भन्दा पनि जाँचेको पैसा लिने गरेका हौं । रगत चाहिने व्यक्तिलाई पैसा नचाहिने निणर्य धेरै राम्रो छ ।’

रक्तसञ्चार केन्द्रमा बार्षिक रु २ करोड ६० लाख सेवा शुल्कबापत सङ्कलन हुने बताइन्छ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी रगत खपत हुने गरेको छ । जिल्ला अस्पतालहरूबाट पोखराका अस्पतालमा बिरामी सिफारिस भएर आउने गरेकाले पनि गम्भीर र जटिल रोगका बिरामीको यहाँ उपचार हुने गरेको छ । गण्डकी प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगत माग हुने गरेको बताइन्छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७