मन्त्री रेग्मीले गरिन् भृकुटीमण्डप क्षेत्रको अनुगमन, भाडा नतिर्नेलाई कारबाही गर्ने चेतावनी


२५ माघ २०७८, मंगलवार
Uma Regmi

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छिन् । भृकुटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडा समेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरूको अनुगमन गरेकी हुन् ।

त्यसक्रममा उनले धेरैले भाडा नतिरेको पाइएको भन्दै भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिइन् । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले सो क्षेत्रको अवलोकन गर्नुपरेको उनले स्पष्ट पारिन् ।

मन्त्री रेग्मीले भनिन्, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यस कारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जो-जो बस्नुभएको छ, उहाँहरूले पनि सहयोग गर्नुपर्‍यो । यसलाई म व्यवस्थित गर्न चाहन्छु । धेरैले भाडा नतिर्ने गरेको पाइयो । भाडा नतिर्नेलगायत जसले अनियमितता गरेको छ, उसलाई कारबाही हुन्छ नै । अनियमितता गरेर बसेका छन् भने कारबाहीको दायरामा आउनुपर्छ ।’

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम बिचौलियाहरूले गरिरहेको उल्लेख गर्दै अब सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७