२८ वर्षदेखि सम्पति कर नबुझाएकाहरुसँग काठमाडौं महानगरले असुल्यो सात करोड


२५ माघ २०७८, मंगलवार
kathmandu mahanagar

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घर जग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् । तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् ।

‘आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन’, कामपा राजश्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने । कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो ।

त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ । धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरण समेत बुझाएका छैनन् । तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो । सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ ।

नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ । डा. अधिकारी भन्छन्, ’सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७