मार्चअगावै पूर्णरूपमा सीमाना खुला गर्न मलेसियालाई एनआरसीको सिफारिस


२५ माघ २०७८, मंगलवार
Malaysia

काठमाडौं । मलेसियाको नेसनल रिकभरी काउन्सिल (एनआरसी) ले आउँदो मार्च १ तारिखअगावै पूर्णरूपमा सीमाना खोल्न सिफारिस गरेको छ । यात्रुहरूलाई अनिवार्य क्यारेन्टिन बिना नै प्रवेश गर्न दिन सिफारिस गरेको हो । अर्थतन्त्रको पुनरूत्थानलाई गति दिने योजनाको हिस्साका रूपमा यसो गरिएको हो ।

दक्षिण पूर्वी एसियाली मुलुक मलेसियाले कोरोना प्रकोप नियन्त्रण गर्न सन् २०२० मार्चदेखि आफ्नो सीमाना बन्द गरेको थियो र विदेशी कामदारहरूको प्रवेश रोकेको थियो । थाइल्यान्ड, फिलिपिन्स र सिंगापुरसहित मलेसियाका छिमेकी मुलुकले खोप लगाएका पर्यटकहरू आकर्षित गर्न क्वारेन्टिनसम्बन्धी प्रावधान हटाएपछि यस्तो सिफारिस आएको हो ।

पूर्व प्रधानमन्त्री एवं सरकारी सल्लाहकार निकाय नेसनल रिकभरी काउन्सिल (एनआरसी) का प्रमुख मुहिद्दिन यासिनले यात्रुहरूले प्रस्थान गर्नुअघि र आगमनमा कोभिड-१९ स्क्रिनिङ गर्नुपर्ने बताए । ‘यसको मतलब पर्यटकहरू भ्रमण गर्न सक्छन् । लगानीकर्ताहरू प्रवेश गर्न सक्छन् । एयर एसिया फेरि उडान गर्न सक्छन्’, उनले भने ।

अहिले द्विपक्षीय सम्झौताअनुसार मलेसियाले सिंगापुरबाट आउने मानिसलाई क्वारेन्टिनफ्री प्रवेशका लागि अनुमति दिएको छ । मलेसियाका ९८ प्रतिशत वयस्क जनसंख्याले दुई मात्रा खोप लगाएका छन् भने आधाभन्दा धेरैले बुस्टर डोज पनि लिएका छन् । १२ देखि १७ वर्ष उमेरका ८९ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । गएको हप्तादेखि पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप दिन शुरु गरिएको छ ।

मलेसियामा दैनिक कारोना भाइरस संक्रमण हालैका हप्ताहरूमा बढेको छ । मंगलबार १३ हजार ९४४ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म २९ लाख व्यक्ति संक्रमित भएका छन् भने कोरोनाका कारण ३२ हजार मानिसको मृत्यु भएको छ । रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७