चुनावअघि एसईई : बोर्डले थाल्यो तयारी, आज-भोलि नै परीक्षा तालिका


२६ माघ २०७८, बुधबार
exam board 1112

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । बैसाख ३० गतेको स्थानीय तह निर्वाचनअघि नै परीक्षा सक्ने गरी बोर्डले तयारी तीब्र बनाउन थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भइरहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

उनकाअनुसार आउँदो बैशाख २० गतेभित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गतेभित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ । चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनावअघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ ।

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दै छन् । विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो । बोर्डले बैशाखमा एसईई परीक्षा गर्ने र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७