रेल चलाउने तयारी : हटाउन थालियाे लिक नजिकका हाट बजार


२६ माघ २०७८, बुधबार
train

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रूपमा लाग्दै आएको हाट बजार हटाउन शुरु गरेको छ ।

आउँदो महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका-१ सीता चोकमा रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन शुरु गरेको हो । जनकपुरधामसहित ठाउँ-ठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेका कारण रेल सञ्चालनमा समस्या हुने भएकाले लिकबाट हाटबजार हटाउने अभियान शुरु गरेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

‘रेल्वे लिकमै हाटबजार लगाउँदै आएका छन्, जसका कारण हामीलाई रेल सञ्चालनको तयारीमा समस्या भइरहेको छ’, महाप्रबन्धक झाले भने, ‘हाटबजार रेल्वे लिकबाट अन्यत्र सार्ने विषयमा यहाँका जनप्रतिनिधि, व्यापारी र स्थानीयवासीसँग छलफल गरेर वैकल्पिक ठाउँको खोजी समेत भइरहेको छ ।’ हाटबजारका लागि जनकपुर रेल्वे स्टेशनकै छेउमा रहेको रेल्वे कम्पनीको जग्गाको निरीक्षण गरिसकेको र त्यसैलाई व्यवस्थित गरेर त्यहीँ हाटबजार लगाउने विषयमा एक चरणको छलफल भएको महाप्रबन्धक झाको भनाइ छ ।

खरिद गरेर पनि लामो समयदेखि सञ्चालन हुन नसकेका दुई रेल सेट नेपाल रेल्वे कम्पनीले आउँदो फागुन १ गतेदेखि दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (विना यात्रु) सञ्चालन गर्ने तयारी गरेको छ । ‘हामीले आउँदो महिनाको पहिलो वा दोस्रो हप्तामा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर-कुर्था रेल सेवाको उद्घाटन गर्ने तयारी गरिरहेका छौँ’, महाप्रबन्धक झाले भने, ‘फागुन १ गतेदेखि उद्घाटन नहुँदासम्म विना यात्रु प्रत्येक दिन एक पटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि टिकट काटेर यात्रुसहित नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’

उद्घाटनको मिति एक दुई दिनभित्रै टुङ्गो लाग्ने भएकाले रेल सेवा नियमित सञ्चालनका लागि सबै पक्षले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुका १५ दिन दिनको एक पटक आउने र जाने गरी रेल सञ्चालन गर्ने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा दुई/तीन पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी गरेको उनले बताए ।

२०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । लामो समयदेखि त्रिपालमुनि थन्किएका रेलको गएको पुस २४ गते जयनगरदेखि कुर्थासम्म परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७