कोरला सडकको हिउँ पन्छ्याउँदै पालिका


२६ माघ २०७८, बुधबार
2korala 20220209085119

जोमसोम । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको उत्तरी कोरला नाका जोड्ने सडकको हिउँ बुधबारदेखि पन्छ्याउन थालिएको छ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जोमसोम-कोरला सडक अन्तर्गत वारागुङ मुक्तिक्षेत्रको समरदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङसम्म सडक माथि थुप्रिएको हिउँ पन्छ्याउन थालिएको हो ।

गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र उपाध्यक्ष ढोका गुरुङको पहलमा अवरुद्ध उपल्लो मुस्ताङ सडक सञ्चालनमा ल्याउन हिउँ पन्छ्याउन शुुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले जानकारी दिइन् । उनका अनुसार पालिकाकै आन्तरिक खर्चमा प्रतिघण्टा ४ हजार ५ सय रुपैयाँ शुल्क तिर्ने गरी डोजर भाडामा लिएर सडकको हिउँ पन्छ्याउने काम भईरहेको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका ५ वटै वडाध्यक्षहरुको उपस्थितीमा डोजरको सहायताले हिउँ पन्छ्याउने काम अघि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनले जनाइन् । उपल्लो मुस्ताङको चराङदेखि समरसम्म हिउँ पन्छयाइने उनले बताइन् । उनका अनुसार सडक माथिको हिउँ पन्छ्याउने करिव दुई दिन लाग्ने छ । लोघेकर गाउँपालिकाले करिव ५० किलोमिटर सडकको हिउँ पन्छयाउन थालेको हो । सडक माथिको हिउँ पन्छ्याएपछि उपल्लो मुस्ताङको यात्रा सहज हुने उनको भनाई छ ।

मुस्ताङमा जारी सिजनमा आशिंक हिमपात भए पनि दुई पटक भने भारी मात्रामा हिमपात भएको थियो । गत पुस १४ गते भारी हिमपात हुँदा उपल्लो मुस्ताङको सडक अवरुद्ध बनेको थियो । त्यससमय पनि लोघेकर दामोदरकुण्ड गाउँपालिकाकै पहलमा सडक माथिको हिउँ पन्छ्याइएको थियो । सडकमा बाक्लो हिमपात जमेर बसेपछि त्यससमय एकसातासम्म सडक अवरुद्ध बनेको थियो । मुस्ताङमा दोश्रो पटक गत माघ २० गते भारी हिमपात भएको थियो । हिमपातले पुनः उपल्लो मुस्ताङको सडक यातायात अवरुद्ध बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७