नागढुंगा सुरुङ मार्ग समयमै निर्माण सकिने


२७ माघ २०७८, बिहीबार
nagdhunga surungmarga

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन् । बुधबार निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उनले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गरिन् । सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उनले बताइन् ।

सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनले बताइन् । उनले भनिन्, ‘आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ ।’ सुरुङ निर्माण नेपालका लागि पनि सिकाइ भएको मन्त्री यादवको भनाइ थियो । यहाँबाट सिकेको अनुभवबाट अरु ठाउँमा पनि प्रयोग गर्नुपर्ने उनले बताइन् ।

नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको बताए । विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको उनले बताए ।

आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव १ प्रतिशत र मोबिलाइजेसन पेस्की समेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव २ प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव ९ प्रतिशत सकिएको छ ।

मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटलगायत निर्माणस्थल पुगेका थिए । उनीहरुले काठमाडौँ जिल्लातर्फ भइरहेको निर्माणको अवलोकन गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७