आज कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै


२७ माघ २०७८, बिहीबार
sanepa congress

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको आज (बिहीबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । दिउँसो २ बजे केन्द्रीय कार्यालय (सानेपा) मा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ । कोरोना संक्रमणका कारण कांग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुन सकेको छैन ।

आजको कार्यसम्पादन बैठकबारे कांग्रेस पदाधिकारीबीच बुधबार छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच छलफल भएका विषयबारे सभापति देउवालाई जानकारी गराइएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्त रूपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निणर्यमा पुगिने उनले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७