बिरालो कालो होस् कि सेतो, मुसा मारे पुग्छ : मुख्यमन्त्री राई


२७ माघ २०७८, बिहीबार
Rajendra Rai 1
फाइल फोटो

मोरङ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकापसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश-१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह पनि आग्रह गरे । ‘हामीलाई चिनियाँ उक्ति जस्तो-बिरालो चाहे कालो होस् कि सेतो मुसा मारे पुग्छ’, उनले भने, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनु पर्‍यो, कर्मचारी जो भए पनि हुन्छ ।’

उनले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीहरुलाई निर्देशन दिए । मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई पनि आग्रह गरे । ‘यो वा त्यो कानूनको बहाना गरेर मन्त्रीलाई अलमलाउनु भएन,’ उनले भने, ‘टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्‍यो ।’

उनले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको बताए । ‘जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने हो,’ मुख्यमन्त्री राईले भने । समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्य सम्पदानबाटै जवाफ दिनुपर्ने बताए ।

‘मन्त्रालय र मन्त्री थप्दै खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ,’ उनले भने । कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयको बजेट फरक-फरक हुनु स्वाभाविक भएको भन्दै उनले प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्नेमा जोड दिए ।

उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थिर सरकारको संज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताए । प्रमुख सचिव डा.रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवलाई निर्देशन दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७