हिमपातपछि ठप्प रसुवागढी नाकाबाट आयात शुरु


२७ माघ २०७८, बिहीबार
naka rasuwagadhi

रसुवा । हिमपातका कारण ठप्प भएको रसुवागढी नाकाबाट आयात पुनः सञ्चालन भएको छ । चिनियाँ नयाँ वर्षका अवसरमा सोमबार र मंगलबार बन्द भएर बुधबार मात्रै खुला भएको नाका गत शुक्रबार र शनिबार हिमपातका कारण फेरि अवरुद्ध भएको थियो । चिनियाँ भूभागका सडकमा बाक्लो हिउँ जमेका कारण केरुङबाट रसुवागढीतर्फ आउने कन्टेनर उतै रोकिएका थिए । हिउँ पग्ल्लिएसँगै बुधबार नौवटा टेलरमार्फत सामान आयात भएको हो ।

हिमपातका कारण चिनियाँ सवारीसाधन गुड्न नसक्दा रोकिएका सामग्री रसुवागढी नाकामा आउन थालेको रसुवा भन्सार कार्यालयले जनाएको छ । रसुवागढी मितेरी पुलमा तैनाथ सुरक्षाकर्मीका अनुसार बुधबार नौवटा चिनियाँ टेलरमार्फत आएका सामग्री नेपाली सवारीसाधनमा पल्टि भई परीक्षणका लागि भन्सार हातामा पठाइसकिएको छ ।

आयातकर्ता व्यवसायीले परिमाण घोषणा गर्नासाथ परीक्षण कार्य छिटोछरितो अगाडि बढाउन आफ्ना जाँचकी तयार रहेको भन्सार अधिकारीले जनाएका छन् । बुधबार आयात भएको सामग्रीमा नेपालमा सञ्चालित जलविद्युत् आयोजनाको उपकरणलगायत विभिन्न सामग्री रहेको सुरक्षाकर्मीले बताएका छन् ।

आयात भएका चिनियाँ सामग्री रसुवाबाट काठमाडौं ढुवानीका लागि सयौं नेपाली कन्टेनर टिमुरेमा लामबद्ध भइसकेको सुरक्षाकर्मीले जनाएका छन् । भन्सार अधिकृत मदन श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको गत साउनदेखि माघ २६ गतेसम्म चार अर्ब ७६ करोड ६० लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । रसुवागढी नाकाबाट केरुङसम्मको दूरी २४ किलोमिटर मात्रै छ । रसुवागढी नाकाबाट हुँदै आएको आयात-निर्यात झन्डै दुई वर्षयता पटक-पटक प्रभावित हुँदै आएको छ । विभिन्न पर्व, हिमपात, पहिरो र कोरोना महामारीका कारण पटक-पटक नाका बन्द भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७