जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, घाइते १९ मध्ये पाँच जनाको अवस्था गम्भिर


२७ माघ २०७८, बिहीबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

उदयपुर । बिहेको जन्ती बोकेको ट्याक्टर आज (बिहीबार) उदयपुरमा दुर्घटनामा पर्दा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा डेढ दर्जन बढी घाइते भएका छन् । विहान अन्दाजी १० बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-७ नागबेलीस्थित घुम्तीमा भएको दुर्घटनामा परी त्रियुगा नगरपालिका-१४ साउनेका १९ वर्षीय मिलन मग्रातीको निधन भएको हो ।

त्रियुगा नगरपालिका-१६ रातापानीबाट उदयपुरगढी गाउँपालिकाको धप्परस्थित बेहुली लिन जाँदै गरेको जन्ती बोकेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटनामा पर्दा १९ वर्षीय मग्रातीको घटुनास्थलमै निधन भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा परी १९ जना जन्ती घाइते भएका छन्। जसमध्ये केहीको अवस्था गम्भीर छ ।

प्रहरी चौकी नेपालटार, मुर्कुची र जिल्ला प्रहरी कार्यालयबाट खटेको इन्सपेक्टर कमाण्डको संयुक्त टोलीले घाइतेहरुको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको छ । घाइतेमध्ये रौतामाई-७ की १८ वर्षीया स्मिता अछामे, त्रियुगा-१४ का २२ वर्षीय दिपेन फुयाल र त्रियुगा-१६ कै २६ वर्षीय सागर कोइरालाको अवस्था गम्भीर रहेकाले बिराटनगर रिफर गरिएको त्रियुगा १६ नं. वडाध्यक्ष मानबहादुर राईले बताए ।

घट्नास्थलमै रहेका वडाध्यक्ष राईका अनुसार अन्य दुई जनाको अवस्था पनि गम्भीर रहेकाले रिफर गर्ने तयारी भईरहेको छ । बेह्ला धिरेन रोक्का भने सकुशल रहेको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि कानुनी प्रक्रिया शुरु भएको छ । चालक घट्नालगत्तै फरार रहेकाले खोजी कार्य भईरहेको छ भने ट्याक्टर घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७