एमसीसी तनाव : देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, आ-आफ्नो अडान कायमै


२७ माघ २०७८, बिहीबार
deuba prachanda madhav

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज (बिहीबार) विहान एमसीसीबारे छलफल भएको हो ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । स्रोतका अनुसार भेटमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने अडान लिएका थिए ।

कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो । तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समय सीमाभित्रै एमसीसी अनुमोदन गराउनु पर्नेमा अडान लिएका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

बिहीबार बिहान मात्रै माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेता शेखर कोइरालासँगको भेटमा एमसीसी सम्झौता तत्काल संसद्मा प्रवेश नगराउने गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका थिए । एमसीसीलाई चुनावपछिसम्मको समय माग्नुपर्ने उनको भनाइ थियो ।

संसद्बाट एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद छ । शीर्ष नेताहरु एमसीसी पास गर्नुपर्ने पक्षमा मत्थर देखिए पनि विपक्षमा बोल्न पार्टीभित्र नेता कार्यकर्ताको दबाब छ । नेकपा एकिकृत समाजवादी निकट भ्रातृ संस्थाहरुले त एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै आन्दोलनको घोषणा नै गरिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७