पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौंको मेयरमा उठ्छु : विद्यासुन्दर शाक्य


२७ माघ २०७८, बिहीबार
Bidhya sundar

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एमालेले जिम्मेवारी दिए फेरि महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् ।

काठमाडौं महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् ।

शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा साँस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए । ‘आगामी निर्वाचनका लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौं । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निणर्य गर्ने कुरा हो,’ उनले भने, ‘महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।’

महानगर प्रमुख शाक्यले विकास निर्माणका काम निरन्तर रूपमा चल्ने बताए । विकास निर्माण अब सकियो भन्ने नहुने उनको भनाइ थियो । आफ्नो कार्यकालका उपलब्धिबारे उनले भने, ‘हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौं । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’

शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीतिअनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने प्रतिवद्धता जनाए ।

‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सहर हो । जता हेर्दा पनि मन्दिर नै मन्दिर छन् । पार्टी पौवाहरू प्रशस्त छन् । त्यो बेला जसले बनाए पनि अहिले हाम्रा लागि सम्पदा बनेका छन् । सम्पदालाई संरक्षण गर्नु, प्रवर्द्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ,’ शाक्यले भने, ‘त्यहींअनुसार हामीले सुरुदेखि नै भनिरहेका छौं‚ यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्व बोकेका छन् । हामीले सबै पुनर्निर्माण गरिदिन्छौं भनेका थियौं । त्यहीँअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौं ।’

सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । स्थानीय तह निर्वाचनको तयारीमा आयोग र राजनीतिक दलहरू जुटेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७