रसिया र बेलारुसको १० दिने संयुक्त सैन्य अभ्यास


२७ माघ २०७८, बिहीबार
1 russia n belarus start militar ydrill1644474643

मस्को । युक्रेनको सीमानामा रुसी फौजको उपस्थितिलाई लिएर तनाव बढ्न थालेपछि रसिया र बेलारुसले १० दिने संयुक्त सैन्य अभ्यास शुरु गर्ने भएका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले यो सैनिक अभ्यासले शीतयुद्धयता पूर्व सोभियत गणराज्य बेलारुसमा रसियाको सबैभन्दा ठूलो संख्यामा सैनिक उपस्थित हुन लागेको जनाएको छ ।यता, अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसले यस अभ्यासलाई युक्रेनको तनावलाई अझै उक्साउने कार्यको संज्ञा दिएको छ ।

युक्रेनको सिमानमा अत्याधुनिक हातहतियारसहित एक लाख फौज तैनाथ गरेको रसियाले युक्रेनमा हमला गर्ने आफ्नो योजना नरहेको बारम्बार दोहोर्‍याउँदै आएको छ । तर, अमेरिकालगायत केही युरोपेली मुलुकले भने फौजको उपस्थिति नै सम्भावित युद्धको तयारी भएको जिकिर गर्दै आएका छन् ।

सन् २०१४ मा रसियाले युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीप कब्जा गरेको थियो । त्यति बेलादेखि नै पूर्वी युक्रेनमा दीर्घकालीन द्वन्द्व चलिरहेको छ । सो क्षेत्र रसिया समर्थित पृथकतावादीहरुको कब्जामा रहेको छ । अहिलेसम्म त्यहाँको युद्धमा १४ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् । बेलारुससँगको संयुक्त सैनिक अभ्यासमा करिब ३० हजार रुसी फौजको सहभागिता रहने अपेक्षा गरिएको छ । बेलारुसका नेता अलेक्जान्दर लुकासेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर समर्थक हुन् ।

सन् २०२० मा बेलारुसमा सरकारविरुद्ध विशाल विरोध प्रदर्शन हुँदा क्रेमलिनले लुकासेन्कालाई उल्लेखनीय सहयोग र समर्थन गरेको थियो । त्यति बेला अधिकांश पश्चिमी मुलुकले त्यहाँ चुनावमा धाँधली भएको आरोप लगाउँदै त्यसको परिणामलाई मान्यता नदिनुका साथै बेलारुसमाथि आर्थिक नाकाबन्दी लगाएका थिए । क्रेमलिनका एकजना प्रवक्ताले यो संयुक्त सैनिक अभ्यास गम्भीर भएको र रसिया तथा बेलारुसलाई अप्रत्यासित खतराले अवरोध पुर्‍याइरहेको प्रतिक्रिया दिएका छन् ।

तर, युरोपेली संघका लागि रुसी राजदूत भ्लादिमिर चिज्कोभले रसिया अझै युक्रेन समस्या कूटनीतिक पहलबाट समाधान हुने कुरामा आशावादी नै रहेको बीबीसीलाई बताएका छन् । फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँ अहिले अन्तर्राष्ट्रिय कूटनीतिक सहमति जुटाउन दौडधुप गरिरहेका छन् । यसैगरी, बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन नेटोको समर्थनका सिलसिलामा ब्रसेल्स र बार्सा पुग्ने भएका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७