भुक्तानी नपाएको भन्दै ठेकेदारले बन्द गरे कर्णाली नदीको पुल


२७ माघ २०७८, बिहीबार
soru bridge

मुगु । मुगुको सोरु गाउँपालिकास्थित तारापानी सिप जोडने मुगु कर्णाली नदी माथिको बेलिब्रिज ठेकेदारले बन्द गरेपछि सवारी साधन चल्न बाधा परेको छ । सम्झौता अनुसार गाउँपालिकाले अन्तिम किस्ता ५० लाख रकम नदिएको भन्दै निर्माण कम्पनी जलपा रबि चक्र जेबिले मङ्गलवारदेखि पुलका केही पार्ट झिकेर पुल बन्द गर्दा गमगढी सोरुकोट सोरुकोट गमगढी सवारी साधन चल्न बन्द भएको हो ।

ठेकेदारले पुल बन्द गर्दा जिमा, सोरुकोट, नार्थपु, सिप, बुम्च, भीई लगायत बस्तीका स्थानीयलाई गमगढीदेखि दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामग्री लैजान बाधा उत्पन्न भएको छ । सवारी साधन चल्न बाधा उत्पन्न भएपछि यात्रुलाई आउजाउ गर्न समान ढुवानी गर्न कठिनाइ भएको छ ।

पुल निर्माण कार्य सम्पन्न भएको एक वर्षसम्म पनि गाउँपालिकाले ५० लाख रकम भुक्तानी नगर्दा बाध्य भएर पुल बन्द गर्नु पर्ने परिस्थिति उत्पन्न भएको कम्पनीका सञ्चालक बखतबहादुर मल्लले बताए । कुल सम्झौता रकम ३ करोड ३७ लाख ९ हजार मध्ये २ करोड ८७ लाख गाउँपालिकाबाट भुक्तानी लिइएको बाँकी ५० लाख रकम पुल बनेको एक वर्षसम्म पनि भुक्तानी नदिएको मल्लको भनाई छ । रकम भुक्तानीको लागि बिल भरपाई बुझाएर बारम्बार ताकेता गर्दा पनि गाउँपालिकाले सुनुवाइ नगरेको कम्पनीको भनेको छ ।

कम्पनीले गाउँपालिकासँग बेलिब्रिज निर्माणको लागि २०७६ मा सम्झौता गरेको र २०७७ मा निर्माण कार्य पुरा गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल र गाउँपालिका अध्यक्ष लोकबहादुर शाही र जलपा रबि चक्र जेबी बीच सम्झौता गरी बेलिब्रिज निर्माण गरेको भए पनि सम्झौता बमोजिम कम्पनी अन्तिम किस्ता रकम ५० लाख नपाउँदा विवाद उत्पन्न भएको छ ।

हिउँदे अधिवेशनमा रकम छुटाएर कम्पनीलाई भुक्तानी दिने सहमति भइसकेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले भने पनि बाँकी रकम भुक्तानी नपाउँदासम्म पुल सञ्चालन नगर्ने कम्पनीको भनाई छ । उक्त पुलको लम्बाई ७४ मिटर र चौडाइ ३ मिटर रहेको छ ।

सिप तारापानी स्थित मुगु कणर्ाली नदीमा बेलिब्रिज पुल बनेपछि सोरु गाउँपालिका र गमगढीसम्मको ४१ किमी सडकमा सवारी साधन चल्न सहज भए पनि कम्पनी र गाउँपालिका बीचको आर्थिक विवादले समस्या उत्पन्न भएको छ । मुगुम कार्मारोङ जोडने लुम्स बेलिब्रिजमा पनि उक्त कम्पनीले १० लाख नपाएको गुनासो गरेको छ ।

सोही पुल निर्माणको निम्ति कम्पनीले कार्मारोङ गाउँपालिकासँग एक करोड ३० लाखमा सम्झौता गरी पुल सम्पन्न गरेको एक वर्ष सम्म पनि पालिकाले १० लाख रकम नदिएको कम्पनीका सञ्चालन मल्लको भनाई छ । निर्माण कम्पनीले पुलका पार्टहरू झिकेर यातायातका साधन सञ्चालनमा अवरोध गरी जनतालाई सास्ती दिनु भन्दा कानुनी उपचारमा गएर भुक्तानी लिन पहल गर्नु पर्ने भन्दै सामाजिक सञ्जाल तथा जमघटहरूमा स्थानीयहरूले निर्माण कम्पनीबारे आलोचना तथा सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७