कांग्रेसले चुनावमा कसैसँग गठबन्धन गर्दैन, आफ्नो अस्तित्व आफै जोगाउनु पर्छ : शशांक


२७ माघ २०७८, बिहीबार
sashanka 1 768x482 1

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आउँदो स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताएका छन् । उनले पार्टीको कार्यसम्पादन समितिमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् । ‘हाम्रो अस्तिस्व जोगाउनु पर्छ । हामी गठबन्धनमा जानु हुँदैन’, उनले बैठकपछि पत्रकारहरुसँग भने ।

कोइरालाले गठबन्धन गरेर जाँदा कांग्रेसलाई झन् क्षति हुने भनाइ राखेका हुन् । ‘मैले आफ्ना कुरा संक्षिप्तमा राखें । अहिलेको अवस्थामा कांग्रेस आफ्नै अस्तित्व जोगाउन लाग्नुपर्छ भन्ने मेरो राय हो । हामी अबको निर्वाचनमा कोही पार्टीसँग नमिली जानुपर्छ’, उनले बैठकमा आफ्ना कुरा राख्दै भने, ‘स्थानीय निर्वाचन आउन लागेकाले कांग्रेस एक्लै आफ्नो शक्तिसहित जानुपर्ने जरुरी छ ।’

नेता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अघि बढाइए गठबन्धन नरहने बताएको सन्दर्भमा पनि उनले कांग्रेस प्रष्ट रहेको बताए ।

‘हामी एमसीसी अघि बढाउन चाहन्छौं । एमसीसी पास गरेपछि मात्रै हामी अरु कुराबारे सोच्न सकिन्छ’, उनले भने, ‘उहाँहरुले एमसीसी अघि नबढाउने भने पनि कांग्रेस यसमा कुनै अलमलमा छैन । हामी पास गरेर जान्छौं । चुनावमा पनि कांग्रेस कसैसँग नमिली जानुपर्छ भन्ने कुरामा धेरै नेता सकारात्मक हुनुहुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७