राप्रपाले देशका सबै पालिकामा उम्मेदवार उठाउने


२७ माघ २०७८, बिहीबार
rajendra lingdel

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो वैशाख ३० गते गर्न लागिएको स्थानीय तह निर्वाचनका लागि देशैभर उम्मेवार उठाउने निणर्य गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निणर्य गरेको बताएका छन् ।

श्रेष्ठका अनुसार बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पार्टीको संगठन सुदृढ बनाउँदै सबै स्थानीय तहमा उम्मेदवार उठाउने निणर्य भएको छ । पूर्व अध्यक्ष कमल थापाले पार्टी छाडेपछि बोलाइएको बैठकमा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी भएको श्रेष्ठले जानकारी दिए ।

बैठकले स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समिति संयोजक भुवन पाठकले राखेको निर्वाचन विशेष कार्ययोजनाबारे छलफल गरेको छ । राप्रपाले देशव्यापी घरदैलो अभियान पनि चलाउने भएको छ । राप्रपाले आगामी फागुनलाई प्रशिक्षण महिना बनाउने भएको छ ।

श्रेष्ठका अनुसार पार्टी केन्द्र, प्रदेश र जिल्ला तहमा प्रशिक्षण हुनेछ । राप्रपाले जिल्ला कार्यसमिति र स्थानीय तहका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छानिसक्ने पनि निणर्य लिएको छ । ‘बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निणर्य पनि गरेको छ’, उनले भने, ‘संवाद शुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यको लागि बैठकले आह्वान पनि गरेको छ ।’

राप्रपाले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी र सुदृढ स्थानीय तह लगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि अडान दोहोर्‍याएको छ । श्रेष्ठका अनुसार बैठकले वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको ३ सदस्यीय केन्द्रीय अनुशासन समिति पनि बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७