एमालेको आग्रह : फागुन २ को संसद बैठक स्थगित गरौं


२७ माघ २०७८, बिहीबार
Samsadma PM1626611237

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आउँदो फागुन २ गतेको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह समेत गरिसकेको छ ।

सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी टेवुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २ गतेका लागि बैठक तोकेका थिए । तर, असोज ३ गतेयता लगातार संसद अवरोध गरिरहेको र संसदको सबैभन्दा ठूलो पार्टीले नै संसद बैठक स्थगित गर्न माग गरेपछि सभामुख अप्ठेरोमा परेका छन् ।

नेकपा एमालेले फागुन २ गते नै प्रदेशस्तरीय भेला राखेका कारण त्यसदिन बैठक नराख्न संघीय संसद प्रतिनिधिसभाका सचिवालयका सचिव गोपालनाथ योगीलाई आग्रह गरिसकेको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न सचिवमार्फत् आग्रह गरेका हुन् ।

‘नेकपा एमालेको स्थानीय तह परिचालन विभाग र स्कुल विभागले फागुन २ गते विराटनगरमा भेला आयोजना गरेको छ, त्यसमा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख, उपप्रमुुख तथा अध्यक्ष, उपाध्यक्षहरु सहभागी हुने भेलामा प्रदेशभित्रका सबै सांसदहरु पनि सहभागी हुनुपर्ने छ ।’

उनले त्यो कार्यक्रम एकदमै महत्वपूर्ण भएकाले त्यसदिनको संसद् बैठक सारिदिन आफुले आग्रह गरेको बताए । संसद सचिवालयले एमालेलाई सभामुखलाई जानकारी गराएपछि बैठक सर्ने नसर्ने विषयमा जानकारी दिने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७