कांग्रेस प्रवक्ताको दावी : एमसीसी संसदबाट बहुमतले पारित हुन्छ


२७ माघ २०७८, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले बैठकमा स्थानीय चुनावको बारेमा छलफल भएको पनि बताए । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताए । बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पुर्‍याएर टुङ्ग्याउने भन्ने कुरामा छलफल भएको बताए । उनले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताए ।

प्रवक्ता महतले भने, ‘एमसीसी संसदबाट नै टुङ्ग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतका साथ पारित हुन्छ । विभिन्न सरकारको सहभागितामा एमसीसी अघि बढेको हो । नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो । त्यो अन्योललाई पनि चाँडै समाप्त पार्नुपर्छ र त्यो प्रक्रियालाई संसदमार्फत अघि बढाउनुपर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै दुई मत छैन । साथीहरूले यो प्रक्रिया अघि बढाउने र अरू दलहरूको सहमतिमा लाग्ने कुरा गर्नुभएको छ ।’ प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निणर्य गरेर अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७