एमसीसी पास नभए चिनियाँ स्वार्थ कारक ठान्छौं : अमेरिका


२८ माघ २०७८, शुक्रबार
1644538846 mcc 1200x560 1

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिस) नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि फागुन १६ सम्मको म्याद दिएको अमेरिकाले उक्त सम्झौता अनुमोदन नभए त्यसमा चिनियाँ भूमिकाले काम गरेको ठहर गर्ने जनाएको छ ।

दक्षिण एसिया तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँगको टेलिफोन कुराकानीमा एमसिसी सम्झौता अनुमोदन नभए त्यसमा चिनियाँ स्वार्थले काम गरेको ठहर हुने बताएका हुन् ।

‘एमसिसी सम्झौता अनुमोदन नभएमा हामीले त्यसमा चिनियाँ भूमिकाले काम गरेको बुझ्नेछौं’, कुराकानीपछि उनको भनाइ उद्धृत गर्दै उच्च स्रोतले नागरिकसँग भन्यो । लुले एमसिसीबारे अन्तिम निणर्य गर्न दाहालसँग आग्रह गरेका थिए । जवाफमा दाहालले एमसिसीबारेमा नेपालले जुनसुकै निणर्य गरे पनि स्वतन्त्र रुपमा गर्ने भएकाले यसमा कसैको भूमिकाले काम नगर्ने बताएका थिए ।

नेपालमा एमसिसी सम्झौता कार्यान्वयनमा विलम्ब हुँदै गर्दा सहायक विदेशमन्त्री लु गत नोभेम्बरमा काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरेका उनले त्यति बेला एमसिसी डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने बताएका थिए । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले गत असोज १३ मा चार-पाँच महिना म्याद थप गर्न आग्रहसहित पत्र लेखेपछि उक्त सम्झौता अनुमोदनको म्याद फागुन १६ सम्म थप गरिएको थियो ।

थपिएको म्यादमा पनि एमसिसी कार्यान्वयनका लागि पहल हुनुको सट्टा सत्तारुढ दलबाटै एमसिसी कार्यान्वयन गर्न नहुने आवाज उठ्न थालेपछि अमेरिकी सहायक विदेश मन्त्री लुले एमसिसीका बारेमा अन्तिम निणर्य गर्न सरकार र सत्तारुढ दलसँग आग्रह गरेका हुन् ।
देउवा र दाहाललाई जवाफी पत्र पठाएको एमसिसी मुख्यालयले नेपालले फागुन १६ सम्म पनि सम्झौता अनुमोदन नगरेमा एमसिसी बोर्डले आउँदो मार्चमा नेपाल कम्प्याक्टलाई निरन्तरता दिने वा नदिने भन्नेसहितको निणर्य गर्ने र बोर्डले पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोगसम्बन्धी सम्झौता रद्द गर्न सक्ने जनाएको छ । यस्तो निणर्यले नेपालसँगको एमसिसीको साझेदारी अन्त्य हुने जनाइएको छ ।

शीर्ष नेताबीच छलफल

अमेरिकी सहायक विदेशमन्त्री लुसँगको टेलिफोन संवादपछि सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेट भएको छ । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवासमा भएको भेटमा एमसिसी अघि बढाउने विषयमा छलफल भयो ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अघि बढाउने दोहोर्‍याएको जानकारी दिँदै स्रोतले भन्यो, ‘दाहाल र नेपाल अहिलेकै अवस्थामा एमसिसी अघि बढाउन सकिँदैन भन्ने अडानमा हुनुहुन्छ ।’ एमसिसी अनुमोदन गर्न नहुने पक्षमा सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाभित्र बलियो मत रहेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७