आजदेखि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ (मूल्य सूचीसहित)

बढेको मूल्यमा किसानलाई साढे ६ रुपैंयाँ मात्र


२८ माघ २०७८, शुक्रबार
milk

काठमाडौं । आज (शुक्रबार) देखि दूधको उपभोक्ता मूल्य ८५ रुपैयाँ कायम भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ बाट बढाएर ८५ पुर्‍याएको हो ।

डिडिसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ निर्धारण गर्ने निणर्य गरेको हो । बोर्डको निणर्यअनुसार डिडिसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ । काठमाडौं उपत्यकासहित विराटनगर हेटौंडा र जनकपुरमा प्रतिलिटर ८५, बुटवल भैरहवामा प्रतिलिटर ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रुपैयाँ मूल्य कायम हुनेछ ।

dudh

यसअघि काठमाडौँमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा ७० तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार ६ रुपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई रुपैंया ४८ पैसा उद्योगीले पाउने डीडीसीले जनाएको छ । पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दुधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम गरिएको डीडीसीले जनाएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम गरिएको छ ।

डिडिसीले बिक्री गर्ने गाईको दुध (पहेंलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ । अब यस्तो दुधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा-जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ ।

गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दुधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७