ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिन आग्रह

ओलीको जवाफ : पहिले आफूले निर्णय गर्नूस्, एमालेले त गरिहाल्छ


२८ माघ २०७८, शुक्रबार
Oli Prachanda Phone Conservation

काठमाडौं । अमेरिकी अनुदान मिलेनियम चयालेञ्ज कम्प्याक्ट (एमसीसी) का कारण दवावमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार साँझ प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन् ।

प्रचण्डले बिहीबार साँझ ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालल बताएका छन् । ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नु भएको छ ।’

रिजालले भनेका छन्, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनु भएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनु भएको छ, प्रतिनिधिसभामा १६५ सदस्य छन् । पहिले आफूले निणर्य गर्नूस्, नेकपा एमाले त निणर्य गरिहाल्छ ।’

हिजो मात्र नेपालका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सिधै फोन गरेर अमेरिकी मन्त्रीले नै एमसीसी सम्झौता नेपालको प्रतिनिधि सभाबाट अनुमोदन हुनबाट रोकेर फिर्ता पठाउन चीनले नेपाली नेताहरूमार्फत खेलिरहेको आरोप लगाएका थिए । एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने अन्तिम कसरत अन्तर्गत अमेरिकाले यस्तो आरोप लगाएको हो । नेपाली नेताहरूले भने अरु देशको सल्लाहमा नभएर नेपाल आफैले एमसीसीबारे निणर्य गर्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा भएकै बेला सम्झौता अनुमोदन गराउन वासिङ्टनबाट अमेरिकी मन्त्री र एमसीसीका अधिकारीहरूले नेपालका शीर्ष नेताहरूलाई सिधै फोन गरेर यस्तो दबाब दिएका हुन् । एमसीसीका उपाध्यक्ष फतिमा सुमार र काठमाडौंस्थित अमेरिकी राजदूत रेन्डी बेरीको पहलले नपुगेपछि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लूले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वासिङ्टनबाट फोन गरेर एमसीसीबारे अन्तिम निणर्य लिन दबाब दिएका हुन् ।

बिहीबार सहायक मन्त्री लूले प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीलाई फोन गरेर दबाब दिएको शीर्ष नेताहरूले पुष्टि गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री देउवासँग फोनमा सहायक मन्त्री लूले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुने बताएका थिए । अमेरिकी मन्त्रीको दवावपूणर् फोनका कारण अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साँझ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्षलाई फोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७